फाइल तस्बिर। काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिबाट सुख र शान्ति प्राप्त हुने दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन्। आर्थिक विकासबाट समृद्धि हासिल हुने र यसबाटै सुख र शान्ति प्राप्त हुने उनको भनाइ छ।
नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउनुपर्ने बताइन्। 'मेरो विश्वास छ, स्थापनाकालदेखि नै चेम्बरजस्ता संघसंस्थाहरूले हाम्रो साँस्कृतिक मूल्य मान्यतालाई आत्मसात गर्दै उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गर्दै आएका छन्,' उनले भनिन्, 'यसबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्त्वपूर्ण आधार निर्माण भएको छ।'
राष्ट्रपति भण्डारीले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विभिन्न प्रदर्शनीहरूको आयोजना गर्नुका साथै प्रवर्द्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता वृद्धि गर्न पनि चेम्बर सफल भएको बताइन्। औद्योगिक उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
'प्राकृतिक स्रोत तथा सम्पदाले भरिपूर्ण यस मुलुकमा रहेका कृषि, जडीबुटी, वन तथा खनिज पदार्थको दिगो उपयोग गर्दै स्वदेशी उत्पादन वृद्धि गर्नु आजको आवश्यकता हो,' उनले भनिन्, 'यसबाट आयात प्रतिस्थापन भई व्यापार सन्तुलन हासिल हुने र स्वावलम्बी अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको छु।'
सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहभागिता र समन्वयमा आर्थिक गतिविधिहरू सञ्चालन गर्दै अघि बढेमा आर्थिक विकासले तीव्रता पाउने राष्ट्रपतिको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।