काठमाडौं- वीरगञ्ज भन्सार कार्यालयले बेरुजु नतिर्ने १८६ आयातकर्तामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। आर्थिक वर्ष २०७५/०७६ र २०७४/०७५ मा कारोबार गर्ने ती आयातकर्ताको कारोबारमा महालेखापरीक्षकको कार्यालयले बेरुजु औंल्याएको थियो। यही रकम तत्काल फर्स्योट गर्न कार्यालयले भनेको हो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले ७ दिनभित्र बेरुजु फर्स्योट नगर्नेको निर्यात-आयात (एक्जिम) कोड स्थगनदेखि कारोबार रोक्कासम्मको कारबाही अघि बढाइने जानकारी दिए।
'हामीले सार्वजनिक सूचनामार्फत् रकम दाखिला गर्न भनेका छौँ,' उनले भने, 'समयमै काम नगर्नेमाथि कारबाहीको प्रक्रिया अघि बढ्छ।'
महालेखा परीक्षकको कार्यालयले ती व्यवसायीको कारोबारमाथि प्रश्न उठाउँदै रकम असुल गर्न भनेको थियो। त्यसैअनुसार कार्यालयले तत्काल रकम दाखिला गरी त्यसको जानकारी गराउन भनेको हो।
कार्यालयका अनुसार व्यवसायीले २ हजार रूपैयाँदेखि ५० लाख रूपैयाँसम्म तिर्नुपर्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।