काठमाडौं- हिमालयन बैंक लिमिटेडले बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ३१ वटा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकले गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको ‘एक घर एक बैंक खाता’ अभियान सम्पन्न गरी नमूना गाउँपालिका घोषणा गर्न आयोजित कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण गरिएको जानकारी दिएको छ। उक्त सामग्रीहरू विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय धनगढीका निर्देशक शुभाषचन्द्र घिमिरे, हिमालयन बैंकका कार्यकारी सञ्चालन अधिकृत मृगेन्द्र प्रधान, सुदूरपश्चिम प्रदेश प्रमुख सरोज रेग्मी तथा छेडेदह शाखाका शाखा प्रमुख किरण रिजाल, गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतलगायतको उपस्थिति रहेको थियो।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छेडेदहवासीको शैक्षिक स्तर सुधार्ने पहलमा सहकार्य गर्दै सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको बैंकका कार्यकारी सञ्चालन अधिकृत प्रधानले बताए। गाउँपालिकाका अध्यक्ष रावतले सहकार्य र सहयोगका लागि बैंकलाई धन्यवाद दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।