काठमाडौं- नाडा अटो मोवाइल्स एसोसिएसन अफ नेपालले ताप्लेजुङको दोभानका आगलागी पीडितका लागि दुई लाख एक हजार रूपैयाँ सहयोग गरेको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले आज भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
मन्त्री नेम्वाङसँगको भेटमा अध्यक्ष दुलालले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको जानकारी दिए। नाडाका पदाधिकारीलगायत कार्यसमिति सदस्यहरूबाट रकम सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको नाममा चेक हस्तान्तरण गरिएको उनले बताए।
आगलागी पीडितका लागि प्राप्त चेक लिँदै मन्त्री नेम्वाङले विपद्को समयमा नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। उनले नाडाबाट प्राप्त रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपेर प्रदेश सांसदमार्फत जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई हस्तान्तरण गर्ने जानकारी दिए।
ताप्लेजुङको मिरिङदेन गाउँपालिका-३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी हुँदा ५० घर जलेर ध्वस्त भई ६३ परिवार विस्थापित हुन पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।