काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउनदेखि फागुन मसान्तसम्म)मा एक चौथाइ पनि पुँजीगत खर्च हुन सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा विनियोजित पुँजीगत खर्चको २२.५८ प्रतिशत खर्च भएको छ।
कार्यालयका अनुसार अहिलेसम्ममा ७९ अर्ब ६९ करोड ६७ लाख रूपैयाँ पुँजीगत खर्च भएको छ। सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ पुजीगत खर्च गर्ने लक्ष्यसहित बजेट ल्याएको थियो।
कार्यालयका अनुसार यो अवधिमा ४८.०३ प्रतिशत अर्थात् ४ खर्ब ५५ अर्ब ८० करोड रूपैयाँ चालु खर्च भएको छ। चालु आर्थिक वर्षमा ९ खर्ब ४८ अर्ब रूपैयाँ चालु खर्च गर्ने सरकारी लक्ष्य छ।
यसैगरी, सबैभन्दा कमजोर अवस्था वित्तीय व्यवस्थातर्फको खर्च छ। सरकारले सार्वजनिक संस्थानमा ऋण तथा लगानी गर्ने एवं सरकारले लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि १ खर्ब ७२ अर्ब ७८ करोड रूपैयाँ विनियोजन गरेकोमा अहिलेसम्म २०.५५ प्रतिशत खर्च भएको छ। यो शीर्षकमा ३५ अर्ब ८० करोड रूपैयाँ खर्च भएको महालेखाले जनाएको छ।
राजस्वमा क्रमिक सुधार
चालु आर्थिक वर्षका सुरुका महिनामा कमजोर रहेको राजस्व संकलन फागुनमा आइपुग्दा सुधार भएको छ। फागुनमा लक्ष्यभन्दा ५ अर्ब रूपैयाँ बढी राजस्व संकलन भएको छ।
फागुनमा ६८ अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ७३ अर्ब रूपैयाँ संकलन भएको अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रामेश्वर दंगालले बताए।
'अहिले हामी गैरकरतर्फ केही पछि परेका छौँ,' उनले भने, 'कर राजस्व परिचालन लक्ष्यअनुसार हुने अवस्थामा पुगेको छ।' फागुनमा आन्तरिक राजस्वतर्फ लक्ष्यको १३२ प्रतिशत र भन्सारतर्फ लक्ष्यको १०७ प्रतिशत प्रगति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।