काठमाडौं- हरिवन चेम्बर अफ कमर्स सर्लाहीको भवन शिलान्यास गरिएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भवनको शिलान्यास गरे। कार्यक्रममा हरिवन चेम्बरका महासचिव टिआर लुइँटेलले चन्दा संकलन लगायतबाट भवन निर्माण गरिने बताए।
हरिवन चेम्बरले प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरी पदस्थापन तथा शपथ ग्रहण गरेको छ। हरिवन चेम्बरले ३६ सदस्यीय कार्यसमिति चयन गरेको हो। हाल यो चेम्बरमा २ सय ८४ जना सदस्य छन्।
यसैबीच, वीरगञ्जमा चेम्बर अफ कमर्सको पनि तदर्थ समिति गठन भएको छ। मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन भएको हो।
समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारस अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा छन्।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले व्यावसायिक हकहित तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न व्यवसायीहरूलाई आग्रह गरे।
नेपाल चेम्बर अफ कमर्सले ७०औं वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उनले बताए। ‘सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली महाअभियानको हामी सारथी हौं’, अध्यक्ष श्रेष्ठले भने, ‘यो यात्रामा हातेमालो गर्दै अघि बढ्न चाहान्छौं।’
यस्तै, महोत्तरी चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले प्रमाणपत्र वितरण गरे। यसैबीच, नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवको अवसरमा बारामा व्यवसायीहरूबीच छलफल भएको छ। बारामा चेम्बरको जिल्ला कमिटी र तीनवटा स्थानीय तहमा कमिटीहरू गठन भएका छन्।
मकवानपुर चेम्बर अफ कमर्सले पनि शुक्रबार स्थानीय व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।