काठमाडाैं- बलात्कारको आरोपमा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला न्यायाधीशलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।
शुक्रबार बसेको परिषद्को बैठकले सुनसरी जिल्ला अदालतका न्यायाधीश रहेका अर्जुनप्रसाद कोइरालालाई उच्च अदालतको न्यायाधीश 'उपहार' दिएको हो। परिषद्ले उनलाई उच्च अदालत जनकपुरको वीरगंज इजलासमा नियुक्तिका लागि सिफारिस गरेको छ। परिषद्को सिफारिसमा परेका कोइराला जिल्ला न्यायाधीशतर्फको सूचीमा पाँचौ नम्बरमा छन्।
कोइरालालाई सिफारिस गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै परिषद्का वरिष्ठ सदस्य दीपककुमार कार्कीले ‘नोट अफ डिसेन्ट’ लेखेको थिए।
जिल्ला न्यायाधीश कोइरालाले सुनसरी जिल्ला अदालतमा रहँदा सिद्धबाबालाई एकतर्फी बहस मात्र सुनेर फैसला गरेको भन्दै विवादमा परेका थिए। गत मंसिरमा जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएको थियो।
जिल्ला अदालतले सिद्धबाबाले बलात्कार नगरेको तर, महिला (पीडित)ले सहमतिमा नै शरीर समर्पण गरेको फैसला गरेको थियो।
तीन महिनापछि सार्वजनिक फैसलाको पूर्णपाठमा महिलाले नै शरीर समर्पण गरेको अनौठो व्याख्या गरेको थियो। जिल्ला न्यायाधीश कोइरालाले गरेको फैसलामा ‘सिद्धबाबालाई दोषी ठहर गर्न नमिल्ने’ भनिएको थियो।
२०७६ पुस १० गते गिरीले आफ्नै एक अनुयायीलाई बलात्कार (जबरजस्ती करणी)गरेको भन्दै हदैसम्मको कैद सजाय माग गरेर दायर भएको मुद्दामा सुनसरी जिल्ला अदालतले २०७७ मंसिरमा फैसला गरेको थियो।
जिल्ला अदालतदेखि उच्च अदालत हुँदै सर्वोच्चसम्म गुहारेर पुर्पक्षका लागि थुनामा गएका गिरीलाई जिल्ला अदालतले गरेको सफाइ दिएको विषय पनि विवादमा परेको थियो।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गोकुल निरौलाले पहिलो पटक सार्न दिएको निवेदनलाई अस्वीकार गर्दै सुनसरी अदालतले फैसला सुनाएकाले शंका गर्ने प्रशस्त ठाउँ देखिएको बताए।
यो पनि पढ्नुहोस्
‘सिद्धबाबा’को बलात्कार मुद्दामा अदालतको व्याख्या : करणी होइन, सहमतिमा शरीर समर्पण [पूर्णपाठ]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।