काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले दक्षिण एसियाली मुलुकहरुलाई समेटेर ऊर्जा हब स्थापना गर्ने अवधारणा सार्वजनिक गर्दै क्षेत्रीय विद्युत आपूर्ति प्रणालीमा नेपालले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताएका छन्।
भारतको राजधानी नयाँ दिल्लीमा बुधबार ‘दक्षिण एसियाली ऊर्जा समूह’ (साउथ एसिया ग्रुप अन इनर्जी–सेज) को उद्घाटन गर्दै श्रृङ्गलाले यस्तो बताएका हुन। क्षेत्रीय सहकार्य र एकता कायम गर्नका लागि ऊर्जा एक महत्वपूर्ण कडि हुने बताउँदै श्रृङ्गलाले दक्षिण एसियाली क्षेत्रका हरेक मुलुकसँग ऊर्जा क्षेत्रमा फरक–फरक खालको सम्भावना रहेको बताए।
‘ऊर्जा क्षेत्रलाई हामीले दक्षिण एसियाली मुलुकहरुको एकता र सहकार्यका लागि एक मजबुत खम्बाका रुपमा स्थापित गर्न सक्छौं। र, त्यसका लागि सेजले पनि महत्वपूर्ण भुमिका खेल्नेछ,’ श्रृङ्गलाले भने। विकासशील मुलुकका लागि सूचना प्रणाली (आरआइएस) कार्यक्रमको एउटा अंगका रुपमा लिइएको सेजका माध्यमबाट दक्षिण एसियालाई ऊर्जा हबका रुपमा विकास गर्ने पनि उनले बताए।
नेपाललाई २०१९ मा विभिन्न २५ वता स्थानहरुबाट ७ सय मेगावाट विद्युत निर्यात गरेको भएपनि नेपालले निकट भविष्यमै विद्युत निर्यात गर्न सक्ने अवस्था रहेको श्रृङ्गलाले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन्।
‘ढल्केबर–मुजफ्फरपुर ४ सय केभी हाइभोल्टेज पहिलो अन्तरदेशीय प्रशारणलाइन तीन महिना अघिबाट पूर्ण रुपमा संचालनमा आइसकेको छ। उत्पादनका क्षेत्रमा भारतीय कम्पनी सतलज जलविद्युत निगमले बनाइरहेको ९ सय मेगावाट उत्पादन क्षमताको अरुण–३ र तल्लो अरुण जलविद्युत आयोजनाका कारण विद्युत व्यापारमा सहज हुनेछ,’ श्रृङ्गलाले आफ्नो सम्बोधनमा भनेका छन्, ‘अर्को भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले बनाइरहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निर्यातको लक्ष्य राखिएको छ। उक्त आयोजनाबाट उत्पादित विद्युत नेपालले भारत र बंगलादेशलाई निर्यात गर्न सक्नेछ।’
दक्षिण एसियाली मुलुकहरुमा भारत र बंगलादेशसँग कोइला र प्राकृतिक ग्यासको प्रचुर सम्भावना रहेको तथा नेपाल र भुटानसँग जलविद्युतको अधिक सम्भावना रहेको उनले सम्बोधनमा उल्लेख गरे। त्यस्तै, ऊर्जा हबको अवधारणाअनुसार दक्षिण एसियाली क्षेत्रका ५ वटा मुलुकले सहकार्य गर्नसक्ने उनले बताएका छन।
‘भुटान, बंगलादेश, नेपाल, म्यानमार र भारत मिलेर क्षेत्रीय इनर्जी हबका रुपमा विकास गर्न सकिन्छ। यसमा श्रीलंकालाई समेत जोड्न सकिने र क्षेत्रीय रुपमा एक पूर्ण विद्युत गठबन्धन बनाउन सकिने सम्भावना छ’, उनले भने।
ऊर्जाको आवश्यकतालाई हेरेर भारत क्षेत्रीय रुपमा एकता कामय गर्नका लागि तयार रहेको पनि श्रृङ्गलाले आफ्नो सम्बोधनमार्फत् सन्देश दिएका छन्। जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा र पेट्रोलियम ऊर्जालाई एकीकृत गरी सम्भव भएसम्म नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राखेर ऊर्जा सहकार्य अगाडि बढाइनुपर्ने उनको भनाइ छ।
त्यस्तै, दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगंज–मोतिहारीसम्म बनिसकेको र त्यसलाई विस्तार गरेर चितवनसम्म पुर्याउने लक्ष्य रहेको पनि उनले बताएका छन्। त्यस्तै, अर्को पाइपलाइन सिलगुरी–झापामा बनाउने तयारी रहेको विदेश सचिव श्रृङ्गलाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।