काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीनदिने ट्रेड फेयर सम्पन्न भएको छ। नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल र्याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो।
व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवम् स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार पुरस्कृत गरे। पुरस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाज मात्र सभ्य समाज हुन सक्ने बताए।
तीन दिनसम्म चलेको मेलामा मण्डला सिल्कको स्टलले प्रथम स्थान प्राप्त गरेको छ। यस्तै अग्नि नेपाल प्रालिले द्वितीय स्थान र गोर्खा चेम्बर अफ कमर्सले तृतीय स्थान प्राप्त गरेको छ। मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएका थिए।
मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।