काठमाडौं- सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीले फोहर ल्याएको भन्दै सवारी धोएर मात्र आउन दिने नीति लिएको छ। सोही अनुसार यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा सवारीसाधन धुलाइ केन्द्र स्थापना गर्ने तयारी गरेको छ।
यसका लागि विभागले निजी क्षेत्रसँग प्रस्ताव माग गरेको छ। माघ २८ मा विभागले आयस माग गर्दै सूचना प्रकाशित गरेको थियो। विभागले नागढुंगा, साँगा, चोभार, नागार्जुन, शंखु र टीकाभैरव नाकामा सवारी धुलाइ केन्द्र स्थापनाका लागि विस्तृत प्रस्ताव माग गरेको हो।
सरकारी नीति अनुसार विभागले काठमाडौं उपत्यकालाई धुलोरहित बनाउन सवारी धुलाइ केन्द्र राख्न निजी क्षेत्रसँग आसय माग गरेको विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडलले बताए।
‘सवारी धुलाइ केन्द्रका लाग आवश्यक पर्ने पूर्वाधारदेखि लागतसम्मको आसयका लागि कम्पनी-फर्मलाई १८ चैतसम्ममा प्रस्ताव पेस गर्न म्याद दिएका छौं,’ पौडेलले भने, ‘फागुन २४ सम्ममा कुनैपनि आसय प्राप्त भएको छैन।’
तर, समय बाँकी भएकाले केही कम्पनीहरुले आयस पक्कै पेस पौडेलले बताए। आसय पेस गर्ने कम्पनी/फर्मले धुलाइ केन्द्र स्थापना गर्न आवश्यक जग्गा, धुलाइ गर्ने केन्द्रको डिजाइन, धुलाइ केन्द्रमा हुने कामको शृंखला, धुलाइ गर्न लाग्ने समय, प्रयोग हुने मेसिन र अन्य उपकरणहरू, धुलाइ गर्न लाग्ने पानीको अनुमान, पानीको पुनः प्रयोग गर्ने तरिकालगायत विषय प्रस्तावमा माग गरिएको छ।
१० वर्षअघिदेखिको सवारीसाधनको ट्राफिक चाप र आगामी १० वर्षमा हुने सवारी चापलाई विश्लेषण गरेर प्रस्ताव पेस गर्न आग्रह गरिएको छ। त्यस्तै, दुईपांग्रे, साना, मध्यम र ठूला सवारी धुलाइ गरेबापत लाग्ने अनुमानित शुल्क समेत प्रस्ताव गर्न विभागले भनेको छ। एकपटक निर्धारण भएको शुल्क ५ वर्षसम्म घटबढ नहुने गरी प्रस्ताव गर्न विभागले आग्रह गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही समयअघि सवारीसाधन धुलाइ मापदण्ड जारी गरेको थियो। वातावरणीय प्रदूषण न्यूनीकरणलाई सहयोग पुर्याउन, सवारीसाधन धुने केन्द्रको स्थापना तथा सञ्चालनलाई नियमन गर्न उक्त मापदण्ड ल्याइएको थियो। यो मापदण्ड यातायात व्यवस्था विभागले तोकेको मितिदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनले प्रवेश नाकामा तोकिएका केन्द्रबाट अनिवार्य रूपमा आंशिक धुलाइ गर्नुपर्ने उल्लेख छ।
यो मापदण्ड एम्बुलेन्स, शववाहन, बारुणयन्त्र र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरबाहेकलाई लागू हुनेछ। मापदण्डले सवारीसाधन धुने सुविधा भएका सवारी मर्मत–सम्भार र वर्कसपलाई समेत समेटेको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २३ को उपदफा १ को खण्ड (ग) मा सवारी धुलाइ केन्द्र स्थापनाको मापदण्ड तोक्ने व्यवस्था भए पनि हालसम्म यस्तो व्यवस्था लागू हुन सकेको थिएन। ऐनको व्यवस्थाअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलोपटक धुलाइ मापदण्ड जारी गरेको र विभागले धुलाइ केन्द्र स्थापनाको तयारी गरेको हो।
सरकारले जारी गरेको मापदण्डले सवारीसाधन धुने केन्द्रलाई तीन प्रकारमा विभाजन गरेको छ। पहिलो ‘क’ वर्गको केन्द्रमा दैनिक ५ सय वा त्योभन्दा बढी सवारीसाधन धुने क्षमता हुनुपर्ने छ । त्यस्तै, दोस्रो ‘ख’ वर्गको केन्द्रमा दैनिक १ सयदेखि ५ सयसम्म सवारी धुने क्षमता र तेस्रो ‘ग’ वर्गको केन्द्रमा दैनिक एक सयवटासम्म सवारी धुने क्षमता हुनुपर्ने मापदण्डमा तोकिएको छ।
सवारी धुलाइ केन्द्र स्थापना गर्न चाहनेले तोकिएको निकायबाट अनुमतिपत्र लिनुपर्ने छ। ‘क’ वर्गको केन्द्र स्थापनाका लागि यातायात व्यवस्था विभागबाट इजाजतपत्र लिनुपर्ने छ भने ‘ख’ वर्गका लागि प्रदेश सरकारअन्तर्गत तोकिएको निकायबाट अनुमति लिनुपर्ने छ। त्यस्तै ‘ग’ वर्गका लागि जुन क्षेत्रमा धुलाइ केन्द्र स्थापना हुने हो सोही स्थानीय तहबाट अनुमतिपत्र लिनुपर्ने छ।
तर, काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्थापना तथा सञ्चालन हुने केन्द्रले विभागबाटै इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ। अनुमतिपत्र बहाल अवधि जारी गरिएको मितिदेखि २ वर्षको हुनेछ।
राष्ट्रिय राजमार्गमा स्थापना हुने धुलाइ केन्द्र पानीको सार्वजनिक स्रोतबाट कम्तीमा १ सय मिटरको दूरीमा हुनुपर्ने, काठमाडौं नाका प्रवेश गर्ने ठाउँबाट अधिकतम ५ किलोमिटरभित्रको दूरीमा सडकसँग जोडिएको वा १ सय मिटरको दूरीमा स्थापना हुनुपर्ने मापदण्डमा तोकिएको छ। सवारीको आंशिक धुलाइ गर्दा ठूला सवारीका लागि अधिकतम ५ मिनेट र साना तथा मझौला सवारीका लागि अधिकतम ३ मिनेटमा धोइसक्नु पर्नेछ।
त्यस्तै, दुईपांग्रे सवारीका लागि अधिकतम ९० सेकेन्डभित्र धुलाइको सम्पूर्ण प्रक्रिया सक्नुपर्ने छ। मापदण्डले आंशिक धुलाइ भन्नाले सवारीको च्यासिसमुनिको भाग, पांग्रा, टायर, हिलो छेक्ने पल्ला र सवारीको तल्लो बाहिरी भाग पानीले धुनु हो। पूर्ण धुलाइ भन्नाले सवारीसाधनको बाहिरी भाग, तत्लो भाग तथा भित्रको भागसमेत धुनुलाई बुझाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।