काठमाडाैं– बेलायती राजकुमार ह्यारी र उनका श्रीमती मेगन मर्केलले दिएको एउटा अन्तर्वार्ता विवादित बनेको छ। अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रेसँग उनीहरुले अन्तर्वार्ता दिएका थिए।
अन्तर्वार्ताकाे क्रममा मेगनले रंगको कारण नै आफ्नो छोरा आर्चीलाई राजदरवारले राजकुमारको उपाधि नदिएको आरोप लगाएकी थिइन्।
यसकाे खण्डन गर्दै बेलायती संचारमाध्यमले ह्यारीका हजुरबा प्रिन्स फिलिप्स बिरामी भएकै अवस्थामा यसरी दरबारविरुद्ध अन्तर्वार्ता दिएर ह्यारी र मेगनले गल्ती गरेको समाचार प्रशारण/प्रकाशन गरिरहेका छन्।
‘जब म गर्भवती थिए त्यो बेला नै चर्चा सुरु भइसकेको थियो आर्चीले शाही सुरक्षा पाउँछन् वा पाउँदैनन्। आर्चीलाई शाही उपाधि प्रदान नगर्ने र त्यो भन्दा आर्चीको छालाको रङ कति कालो हुन्छ भनेर चर्चा हुन्थ्यो,’ मेगनले अन्तर्वार्तामा भनेकी छिन्।
उक्त अन्तर्वार्तापछि बकिंघम प्यालेसले यसकाे स्पष्टिकरण दिन लागेकाे बीबीसीले जनाएको छ।
बीबीसीका बेलायती राजपरिवारको विषयमा जानकार पत्रकार डेनिला रेल्फका अनुसार दरबारमा आकस्मिक बैठक बोलाइएको छ। दरबारले ह्यारी र मेगनको दाबीमा कसरी प्रतिक्रिया दिने भनेर तयारी थालेको बताइएको छ।
रंगभेदी व्यवहारबाट मानसिक समस्यामा रहिरहँदा बेलायती संचारमाध्यमले पनि आलोचनात्मक समाचार प्रकाशित गरिरहँदा र दरबारका अन्य सदस्यले समस्या समाधान गर्ने प्रयास नगर्दा आफूले आत्महत्याको सोच समेत बनाएको मेगनले बताएकी थिइन्।
‘मेरो लागि सबैभन्दा ठूलो उपाधि आमा हो। म हैरान भएकी हाम्रो छोरालाई कुनै सुरक्षा नदिने बताइएको थियो, गैर–गोरा सन्तान भएका कारण। मैले फर्ममा मद्दत माग्ने प्रयास पनि गरेकी थिएँ तर मेरो माग खारेज भयो। यस्तो हुँदा मलाई मर्न मन लाग्थ्यो,’ उनले भनेकी थिइन्।
यस विषयमा धेरै मानिसहरुले प्रतिक्रिया जनाएका छन्। बेलायतकै लेबर पार्टीका नेता सर किएर स्टार्मरले मेगनले उठाएको रंगभेद र मानसिक समस्यको विषयलाई गम्भीर रुपमा अनुसन्धान गरिनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।