काठमाडाैं– अमेरिकाको विदेश मन्त्रालयले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा लगाइएको भ्रमण प्रतिबन्धको कारण भिसा नपाएका मुस्लिमहरुले पुनः आवेदन दिन सक्ने बताएको छ। याेसँगै ट्रम्पले विभिन्न १३ मुस्लिम र अफ्रिकन मुलुकमाथि अमेरिका भ्रमणमा लगाएकाे प्रतिबन्ध फुकुवा भएकाे छ।
अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले एक विज्ञप्ति जारी गर्दै राेकिएकले नयाँ आवेदन दिन र शुल्क बुझाउन आग्रह गरेका हुन्। ‘२० जनवरी २०२० भन्दा पहिला आवेदन दिएर भिसा दिनबाट रोकिएको थियो, उनीहरुले नयाँ आवेदन दिनुपर्छ र नयाँ आवेदन शुल्क बुझाउनु पर्नेहुन्छ,’ विज्ञप्तिमा भनिएकाे छ।
अमेरिकाको विदेशमन्त्रालयका अनुसार जनवरी २० भन्दा अगाडिसम्म यी मुलुकबाट आउने मानिसलाई भिसा दिन अस्वीकार गरिएको थियो। तर, गत जनवरी २० मा आफ्नो कार्यकाल सुरु गरेको पहिलो दिन नै जो वाइडेनले ट्रम्प प्रशासनको यो निर्णय उल्ट्याउने निर्णय गरेका थिए।
त्यसका साथै जनवरी २० वा सोभन्दा पछि आवेदन दिएर पनि भिसा नपाएका मानिसहरुले भने आवेदनमा पुनर्विचारको माग गर्न सक्नेछन्। साथै यसका लागि उनीहरुले अतिरिक्त भुक्तानी पनि गर्नुपर्ने छैन।
‘ट्रम्पका कारण ज-जसलाई अमेरिका आउनका लागि भिसा प्रतिबन्ध लगाइएको थियो। उनीहरुलाई अमेरिका आउने दोस्रो मौका दिनेछौँ। खासगरी मुस्लिमहरु पुन: आवेदन दिन सक्नेछन्,’ विभागले भनेको छ।
अमेरिकी विदेशमन्त्रालयको तथ्यांकअनुसार यात्रामा लगाइएको प्रतिबन्धको कारण करिब ४० हजार मानिसहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो।
ट्रम्प प्रशासनले इरान, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनसहित १३ मुलुकबाट आउने मानिसहरुमाथि भ्रमणमा प्रतिबन्ध लगाएको थियो। तर सन् २०१७ डिसेम्बमा अमेरिकाको सर्वोच्च अदालतले उक्त फैसलालाई रोकिदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।