काठमाडाैं– म्यानमारमा सैन्य कू पछि पक्राउ परेका आङ सान सू चीको पार्टीका एक अधिकारीको प्रहरी हिरासतमा मृत्यु भएको छ।
यांगोनमा प्रहरीले विभिन्न स्थानमा छापा मार्दा नेशनल लिग फर डेमोक्रेसीका सदस्य उ खिन माउङ लाटलाई नियन्त्रणमा लिइएको थियो। प्रहरी हिरासतमा रहेको बेला बेहोस भएको ढलेपछि उ खिनको मृत्यु भएको बीबीसीले जनाएकाे छ।
प्रजातन्त्रको पक्षधर अभियन्ताहरुले भने प्रहरीले र सेनाले उ खिनलाई यातना दिएको कारण मृत्यु भएको आरोप लगाएका छन्।
गत नोभेम्बर २०२० को चुनावमा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत हासिल गरेको थियो। तर निर्वाचनमा धाँधली गरेको भन्दै सेनाले फेब्रुअरी १ मा म्यान्मारमा विद्रोह गर्यो।
सेनाले एनएलडीको प्रजातान्त्रिक तवरले चुनिएको सरकारलाई पनि खारेज गरेर सत्ता कब्जामा लिएको थियो। यसका साथै सेनाले नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित शीर्ष नेताहरुलाई नजरबन्दमा राखेको छ। सेनाले एकवर्ष पछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने बताएको छ।
त्यसयता म्यान्मारमा सैन्य शासनविरुद्ध आन्दोलन जारी छ। जारी आन्दोलनमा मृत्यु हुनेको संख्या ६० भन्दा बढी पुगेको छ। उनीहरुमाथि सेना तथा प्रहरीले गोली चलाएका हुन्।
सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोरसमेत छन्। देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ। यता आन्दोलन दबाउन उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र रबरको गोली र अश्रुग्यास प्रहार गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।