काठमाडौं– दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच छलफल भएको छ। छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मूलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाएका छन्।
उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ वटा मूलुकहरुमा व्यापार तथा लगानीका सम्भाव्यताहरुको पहिचान गरी नेपालसँगको व्यापार प्रवर्द्धन तथा देशमा लगानी भित्र्याउने सम्बन्धमा सक्दो पहल गर्ने बताए।
दक्षिण अफ्रिकी मूलूकहरुमा रहेका उद्योग व्यवसायसँग आवद्ध संस्थाहरुको पहिचान गरी नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरुसँगको सहकार्यमा निर्यात प्रवर्द्धन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने उनले उल्लेख गरे।
छलफलमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखि कुटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रवर्द्धन गर्न विशेष पहल गर्नु पर्ने बताएका छन्।
दूतावासहरुले नेपालको उत्पादनहरुलाई प्रदर्शन गर्नको लागि प्रदर्शनी केन्द्रको स्थापना गरी निर्यात प्रवद्र्धनमा सघाउ पुर्याउन राजदूत विश्वकर्मालाई अनुरोध गरे।
अध्यक्ष मोरले नेपालमा दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा कोइला आयात भइरहेको सन्दर्भ उल्लेख गर्दै नेपालबाट पनि हस्तकलाका सामान, पस्मिना, उनिकपडाहरु लगायतका उत्पादनहरुलाई निर्यात गर्नको लागि पहल गर्नु पर्ने धारणा राखे।
स्वदेशमै औद्यागीकरणको माध्यमबाट रोजगारी सिर्जना गर्ने र लगानीमैत्री वातावरण तयार गर्नको लागि परिसंघ निरन्तर लागिरहेको उल्लेख गर्दै अफ्रिकी मूलकबाट पनि लगानी भित्र्याउन सकिने उनले बताए।
यसका लागि परिसंघको रिसर्च सेलले नेपाल र दक्षिण अफ्रिका बीचको व्यापार तथा लगानीका क्षेत्रमा अध्ययन गरिरहेको मोरले जानकारी गराएका छन्।
राजदूत विश्वकर्मासँगको छलफलमा परिसंघका उपाध्यक्षहरु राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे र परिसंघ प्रदेश दुईका संयोजक नरेश दास लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।