काठमाडाैं– भारतमा सोमबारदेखि दोस्रो चरणको बजेट अधिवेशन सुरु हुने भएको छ। अधिवेशनमा आर्थिक विधेयकसँगै कर सम्बन्धी प्रस्तावहरु पनि पेस गरिने अधिकारीहरुले जानकारी दिएका छन्।
सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्तावहरु पनि संसद बैठकमा पेस गर्ने तयारी गरेको छ। बजेट भने गत फेब्रुअरी १ तारिखमा संसदमा टेबुल भएको थियो।
पश्चिम बंगाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद अधिवेशनलाई दलहरुले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन्। ती प्रदेशहरुमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ।
सोमबार सुरु हुने दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने योजना रहेको छ। पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो। पहिलो दिन केन्द्रीय दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्नुभएको थियो।
भारतमा केन्द्रीय संसदले बनाएको कृषि सम्बन्धी तीन ओटा कानुनलाई लिएर किसानहरुले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन्। यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो।
संसदमा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय कंग्रेस समेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद बैठक बहिस्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।