काठमाडौं– श्रीलंकामा भारतीय जनता पार्टी (भाजपा) खुलेको छ। शनिबार कोलम्बोमा बस्ने अनि भारतीय मूलका तमिल नागरिक भेलुस्वमाी मुतुस्वामीले श्रीलंकाको उत्तरी भागमा रहेको जाफ्नामा आईलंकाई भारतीय जनता काची नामक दल खोलेका हुन्।
यस पार्टीलाई अंग्रेजीमा ‘श्रीलंका भारतीय जनता पार्टी’ र ‘सिंहलामा श्रीलंका भारतीय जनता पक्साया’ भनी चिनिनेछ। उनले यो पार्टी भारतीय पार्टीसँग कुनै लिंक नभएको समेत जानकारी दिए।
‘पार्टी स्थापना गर्ने योजना छ वर्ष अघि बनाइएको थियो। यसको लिंक भारतसँग छैन। यदि भारतले हामीलाई सहयोग गरिरहेको छ भने हामी मिडियालाई यसबारे जानकारी दिनेछौं,’ उनले भने।
सबै श्रीलंकालीहरू अनि विशेषगरी तमिलहरूको सामाजिक आर्थिक विकासका लागि पार्टीले काम गर्ने उनको भनाइ छ।
उनले भने,‘हामी केन्द्रिय क्षेत्र, उत्तरी र पूर्वी प्रान्त र कोलम्बोमा क्रियाशील हुनेछौं। पार्टीको उद्देश्य तमिलको शिक्षा र खेलकुदको स्तर विकास गर्न सरकारसँग मिलेर काम गर्नु हो।’
एक महिनाअघि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले नेपाल र श्रीलंकामा समेत भाजपाले सरकार बनाउन सक्षम रहेको दाबी गरेका थिए।
तर श्रीलंकाको निर्वाचन आयोगले कुनै पनि विदेशी दलले आफ्नो देशमा चुनाव लड्नै नपाउने बताएको थियो। भाजपा नेता राम माधवले आइतबार मुत्थुस्वामीलाई उद्धृत गर्दै यस दलको सम्बन्ध भाजपासँग नरहेको स्पष्ट पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।