काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ७ महिनामा आन्तरिक राजस्वतर्फ २ खर्ब २४ अर्ब रूपैयाँ संलकन भएको छ।
साउनदेखि माघ मसान्तसम्मको अवधिमा १ खर्ब १२ अर्ब ४३ करोड रूपैयाँ आयकर, ६५ अर्ब १२ करोड रूपैयाँ मूल्य अभिवृद्धि कर, ४३ अर्ब ५८ करोड रूपैयाँ अन्तशुल्क, शिक्षा सेवा शुल्क र अन्य रकम २ अर्ब ८८ करोड रूपैयाँ संकलन भएको छ।
कोभिड-१९ का कारण राजस्व संकलनो लक्ष्यमा प्रभाव परेको विभागले जनाएको छ। गत आर्थिक वर्षको पहिलो ७ महिनामा विभागले २ खर्ब ३३ अर्ब ७३ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।
अर्धवार्षिक समीक्षा सम्पन्न
विभागले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भएका काम कारबाही र राजस्व संकलनको अवस्थाको समीक्षा गरेको छ। समीक्षामा राजस्व लक्ष्य हासिल गर्न वैकल्पिक योजना तयार गर्ने, करदातामैत्री वातावरण तयार गर्दै अघि बढ्ने, कोभिड-१९को प्रभाव विश्लेषण गरी आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य तयार गर्ने तथा राजस्व नीतिमा गर्नुपर्ने सुधार सम्बन्धी कार्यसूची निर्माण गर्ने विषयमा छलफल भएको विभागले जनाएको छ।
अर्थ मन्त्रालयले फागुन पहिलो साता सहसचिव झक्कप्रसाद आचार्यलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको थियो। आचार्यले महानिर्देशक भएलगत्तै अहिलेसम्मका काम र अब गर्नुपर्ने कार्यसूचीको विषयमा समीक्षा गरेका हुन्।
ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालयले अहिलेसम्म गरेका कामबारे समीक्षा गरिएको विभागले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।