काठमाडाैं- सरकार र भूमिगत एवं हिंसात्मक राजनीति गर्दै आएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शान्तिपूर्ण राजनीतिका लागि शुक्रबार तीन बुदेँ सहमति सार्वजनिक गरियो। काठमाडौंको राष्ट्रिय सभामा गृहमा तीन बुदेँ सहमित सार्वजनिक कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवको प्रशंसा समेत गर्न भ्याए। उनले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भने।
यसरी केन्द्रीय राजधानी काठमाडाैंमा तामझामका साथ सहमतिको घोषणा सभा भइरहँदा विप्लव पक्षबाट हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठकी श्रीमती धनकुमारी श्रेष्ठ भने मोरङको मिक्लाजुङबाट विस्थापित भएर पुगेको नयाँ स्थानमा कसरी जीवन गुजारा चलाउने भन्ने चिन्तामा डुबिरहेकी थिइन्।
धनकुमारीले आफ्नो पतिको हत्या गर्ने विप्लव समूहमाथि लागेका मुद्दा सरकारले फिर्ता लिन लागेको बिहीबार सुनिन्। पतिको हत्यापछि मिक्लाजुङ छोडेकी धनकुमारीको मन अमिलो भयो।
विद्यालयमा पढाइरहेको र आफ्नो दैनिकी चलारहेका पतिलाई गोली हानी मार्ने मानिसहरु अब छुट्छन् रे भन्दा उनले रातभर पत्याउन सकिनन्। शुरुमा उक्त खबरले छक्क परेको र यसरी निर्दोष मानिसहरुलाई गोली हान्नेलाई कसरी फिर्ता लिन मिल्छ भनि सोचमग्न भएको उनले नेपाल लाइभसँग बताइन्। शुक्रबार विहान टेलिफोनमा कुरा गर्दै उनले भनिन् ‘मुद्दा त जिल्ला अदालतमा छ कसरी हामीलाई नसोधी लिन मिल्छ र!’
धनकुमारीका पति श्रेष्ठलाई विप्लव समूहले गएको मंसिर २३ गते गोली हानी हत्या गरेको थियो।
मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिकाको वर्खेका राजेन्द्रलाई बिहान झिसमिसेमै घरबाट नकावधारी समूहले लगेर नजिकैको जंगलमा पुर्याइ निर्मम ढंगले हत्या गरेको थियो। त्यहीँको सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका राजेन्द्रलाई घाँटी रेटेर मारिएको थियो।
‘यसरी घाँटी रेटेर मार्नेहरुलाई माफी हुन्छ भने, राज्यबाट हामी जस्ता निमुखाहरुले कसरी न्याय पाउँछौं’ धनकुमारीले भनिन्, ‘न अहिलेसम्म शहिद घोषणा गरिएको छ न त क्षतिपुर्ति नै पाएका छौं। उल्टै अहिले सबै परिवारको भार मलाई आएको छ। पुरानो थलोबाट विस्थापित भएका छौं।’
छोरा, छोरी र नातीसमेत गरि ६ जनाको परिवारको अभिभावकको रुपमा अहिले आफूले सम्हालिरहेको उनले बताइन्।
शुरुमा उनलाई पतिको हत्या कसले गरेको हो भन्ने पत्तै भएन। जब प्रहरी अनुसन्धानबाट हत्यामा विप्लव समूहको संलग्नता खुल्यो अनि अहिलेसम्म पनि उनले बुझ्न नसकेको कुरा के हो भने कतै पनि संलग्नता नभएका आफ्ना पतिलाई किन गोली हानियो।
‘मैले अहिलेसम्म पनि जवाफ पाएको छैन मेरा पतिले के गल्ती गर्नु भयो जसले यति निर्ममतापूर्वक मार्नुपर्यो? ’ धनकुमारीले भनिन् ‘केही गल्ती थिएन भने उनीहरुलाई किन माफी दिने त? ’
विप्लव समूह स्वयंले पनि विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी लिएको थियो। प्रहरीले सो घटनामा संलग्नताको अभियोगमा विप्लव समूहका मोरङ जिल्ला इन्जार्च डीबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेर मुद्दा दायर गरेको छ। मुख्य अभियुक्तका रुपमा उनी मोरङ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन्। घटनामा अरु १५ जनाभन्दा बढी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुले पनि उनीहरू फरार छन्।
उनीहरुलाई प्रतिवादी बनाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय माग गरेर मुद्दा दायर गरेको छ।
‘मेरा श्रीमान्ले के बिराएका थिए ? उहाँलाई मार्नेहरूलाई सरकारले कारबाही गरिदिनुपर्यो। अरु कुरा म जान्दिनँ ’ धनकुमारीले भनिन् ‘पढेको छैन, जानेको छैन तर न्याय त पाउनु पर्यो नि। मेरा पतिलाई किन मारे मेरो जान्ने हक त होला नि।’
विस्थापित भइन् धनकुमारी
श्रीमानको बर्बर्तातापूर्वक हत्या भएपछि उनी गाउँमा बस्न सकिनन्। अहिले उनी मधुमल्ला भन्ने क्षेत्रमा बसाइँ सरेकी छन्। यो मधेश क्षेत्रमा पर्ने र शहरी इलाका भएकाले केही काम गरेर खान पाइन्छ भनेर यता सरेको उनको भनाइ छ। उनीहरु यसअघि मोरङको विकट क्षेत्र वर्खेमा बस्दै आएका थिए। इलाम र धनकुटासँग सीमा जोडिएको यो क्षेत्रमा श्रीमानको सम्झना बोकेर बस्न नसक्ने भएपछि उनी विस्थापित भएकी हुन्।
‘श्रीमानकाे हत्यापछि मैले गाउँमा बस्न असुरक्षित पनि महसुस गरेँ’, उनले भनिन् ‘त्यहाँबाट विस्थापित भई अहिले मधुमल्ला भन्ने ठाउँमा बसाइँ सरेकी छु।’ गाउँको सबै जमिन बाँझै छोडेर उनी यता आएकी हुन्।
‘पालेका बाख्रा श्रीमानको हत्या भएको भोलिपल्टै यता ल्याएँ। केही दिनपछि गाइवस्तु पनि आफन्तहरुले ल्याइदिनु भयो’ उनले भनिन् ‘जमिन बाँझै छ। बाली लगाउने मानिस पाए फर्केर जान पर्दैन थियो।’
पहाडमा बूढाबूढी मात्रै बस्ने गरेको र छोरा-बुहारी शहरै भएकाले सँगै बस्न आएको उनले बताइन्। ‘उहाँको हत्यापछि म एक्लै बस्न सकिनँ’, धनकुमारीले भनिन्, ‘धेरै दिनसम्म निकै डर पनि लाग्यो। अनि छोरा–बुहारीसँगै यता झरेकी हुँ।’
राजेन्द्रको नाममा विद्याललयबाट आउने पेन्सन पट्टा पनि नआएको उनको गुनासो छ। उनले भनिन्, ‘म धेरै जान्दिनँ हत्याराहरुलाई कारवाही होस्। अनि मैले क्षतिपुर्ति पाउन पर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।