काठमाडौं- मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने माग एकीकृत अखिल नेपाल शिक्षक संगठनले गरेको छ। त्यस्तै पीडितको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत संगठनले माग गरेको छ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका मिक्लाजुङ गाउँपालिका अध्यक्ष लोकनाथ रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त माग राखिएको छ।
२०४६ सालदेखि शिक्षण पेसामा आबद्ध श्रेष्ठ एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्यसमेत हुन्। उनको मंगलबार बिहान साढे ६ बजे अज्ञात समूले हत्या गरेको थियो।
घरबाट १ किलोमिटर टाढा देउढुंगा जंगलमा उनको गोली हानी हत्या गरिएको थियो। उक्त घटनाले स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ।
‘विद्यालयको कार्यक्षेत्रमा अहोरात्र खटिरहनुहुने शिक्षकको हत्या हुनु अन्यन्तै दुखद् र हत्या गर्ने अज्ञात समूहको यस्तो कार्य अत्यन्तै कायरतापूर्ण भएकाले घटनाको घारे भर्त्सना गर्दछौं,’ संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।