काठमाडौं- मोरङको मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गर्नुअघि अपहरणमा परेको खुलेको छ। मंगलबार बिहानै ५/६ जनाको समूहमा आएका व्यक्तिले शिक्षक श्रेष्ठलाई घरबाटै उठाएर लगेको र केही समयमै हत्या भएको पाइएको हो।
उनको टाउकोमा गोली प्रहार गरी हत्या गरिएको देखिएको छ। घरदेखि करिब ३० मिनेट टाढाको जंगलमा लगेर उनको हत्या गरिएको हो।
मिक्लाजुङ–१ का वडाध्यक्ष नरबहादुर राईले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘अपहरणमा परेको जानकारी हामीलाई आउँदा शिक्षकको हत्या भइसकेको रहेछ।’
हत्यामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नपाल कम्युनिस्ट पार्टी (नेकपा)को संलग्नता रहेको आशंका गरिएको छ। अहिले घटनास्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गइरहेको छ।
हत्याको कारण भने खुलिसकेको छैन। हत्या गरिएका शिक्षक सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।
मिक्लाजुङ-१ को वडा कार्यालयबाट घटनास्थल अढाई घण्टाको पैदल दूरीमा पर्छ। उक्त स्थानमा ट्रयाक्टर मात्रै जान सक्ने भएकाले ट्रयाक्टरमार्फत घटनास्थल जाँदै गरिएको वडाध्यक्ष राईले बताए।
वडाध्यक्ष राईका अनुसार शिक्षक राई अध्यापन गराउनुका साथै गाउँमै खेतीपाती समेत गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।