काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दुवै सचिवसँग भेट गरेको छ। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको टोलीले उद्योग सचिव अर्जुनप्रसाद पोखरेल र वाणिज्य सचिव दिनेश भट्टराईसँग बिहीबार भेट गरेको हो।
भेटमा चेम्बरका प्रतिनिधिले औद्योगीकरण र उद्यमशीलताको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
विशेष आर्थिक क्षेत्र सञ्चालन गर्ने सरकारको निर्णयमा प्रगति नहुँदा उद्योगी व्यवसायीहरू उत्साही हुन नसकेको चेम्बरका प्रतिनिधिले बताए।
छलफलमा उद्योग सचिव पोखरेलले संघ, प्रदेश र स्थानीय सरकारका नीति नियम तथा कानुनबीच तादाम्यता मिलाएर व्यवसायिक वातावरण सिर्जना गर्न सरकार प्रयत्नशील रहेको बताए।
‘उद्योग व्यवसायको दर्ता प्रक्रियालाई छोट्याएर सरल बनाउन हामी लागिरहेका छौँ,’ सचिव पोखरेलले भने, ‘नीतिमा समस्या त्यति छैनन्, केही व्यवहारिक अप्ठेराहरू फुकाएर जानुपर्छ।’
यस्तै वाणिज्य तथा आपूर्ति सचिव भट्टराईले सरकारको नीति तथा कार्यक्रममार्फत् व्यवसायीहरूका दीर्घकालीन चासो सम्बोधन गरिने बताए।
‘व्यवहारिक कठिनाइहरू सम्बोधन गर्न हामी अर्थ मन्त्रालयसहितका सरकारी निकायसँग सहकार्य गछौँ,’ उनले भने, ‘सचेतना कार्यक्रमसँगै नियमन पनि उत्तिकै जरुरी छ, यसमा तपाईंहरूको सहयोग चाहिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।