काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा जाभिए लेजेबीच भेटवार्ता भएको छ। भेटमा नेपाल र फ्रान्सबीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भएको महासंघले जनाएको छ।
भेटमा आगामी जुनअघि नेपाल-फ्रान्स बिजनेस फोरम बैठक आयोजना गर्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिडपश्चात् नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती गर्ने सहमति भएको छ।
राजदूत लेजेको महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरेका छन्।
अध्यक्ष गोल्छाले कोभिडपछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी दिएका छन्। उनले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत् नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार लगायतमा जोड दिए।
राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफूले निरन्तर पहल गरीरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।