काठमाडौं- नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले अवकाश पाएका छन्। ५ वर्षे कार्यकाल पूरा गरेर डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबार अवकाश पाएका हुन्।
शिवाकोटी २०४४ साल र श्रेष्ठ २०४६ सालमा राष्ट्र बैंक छिरेका थिए। राष्ट्र बैंकभित्र शिवाकोटीलाई नेकपा निकट र श्रेष्ठलाई कांग्रेस निकटका रुपमा हेरिने गरिन्थ्यो। राष्ट्र बैंकको गनर्भरका रुपमा चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि वरिष्ठ डेपुटी गभर्नर शिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको थियो।
श्रेष्ठ भने डेपुटी गभर्नरका रुपमा कार्यरत रहँदा केही विवादमा पनि मुछिए। अघिल्लो वर्ष उनलाई बैंक वित्तीय संस्थाहरुको संचालन जोखिम बढाउने गतिविधिमा सहयोग गरेको आरोपमा निलम्बन गरिएको थियो। सरकारले छानबिन समिति बनाएर अध्ययन गर्दा उनलाई कारबाही गर्नुपर्ने कुनै कारण नभेटिएपछि उनले सफाइ पाएका थिए।
यी दुवै डेपुटी गभर्नरलाई गभर्नरको दाबेदारका रुपमा लिइएपनि सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यकाल नसकिँदै महाप्रसाद अधिकारीलाई लगेर गभर्नर बनाएको थियो।
राष्ट्र बैंकका संचालक समितिमा डेपुटी गभर्नरहरु सदस्य रहने व्यवस्था छ। दुईजना डेपुटी गभर्नर बिदा भएसँगै अब नयाँ डेपुटी गभर्नर नियुक्तिको विषयले पनि चर्चा पाउन थालेको छ। अहिले राष्ट्र बैंकका करिब डेढ दर्जन निर्देशकहरु डेपुटी गभर्नरका आकांक्षी छन।
डेपुटी गभर्नरको नियुक्ति गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले गर्ने कानुनी प्रावधान छ। यसरी गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिका लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृत मध्येबाट कार्य क्षमताको आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिश गर्नुपर्छ। डेपुटी गभर्नरमा नियुक्त भएसँगै नियुक्त भएको व्यक्तिलाई राष्ट्र बैंकको सेवाबाट निवृत्त भएको मानिने पनि नेपाल राष्ट्र बैंक २०५८ मा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।