काठमाडौं–नेपाल ट्रष्टको स्वामित्वमा रहेको लाजिम्पाटको ६ रोपनी १३ आना एक दाम जग्गा र भवन लिज भाडाका लागि टेन्डर सूचना जारी भएको छ। उक्त जग्गा तथा भवनमा अहिले स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ। उक्त जग्गा तथा भवन बजार रेटअनुसार आफू भाडा तिर्न सहमत भएको बैंकले भन्दै आएको थियो। तर, ट्रष्टको कार्यालयले जग्गा तथा भवन प्रतिस्पर्धाबाट मात्रै भाडामा दिने भन्दै सार्वजनिक सूचना गरेको हो।
स्ट्याण्डर्ड चार्टर्डसँग भएको सम्झौता २०२१ को मेबाट सकिँदै छ। जग्गा लिज भाडाको अवधि सकिने समय आएपछि नेपाल ट्रष्टको कार्यालयले वार्षिक ३ करोड न्यूनतम भाडा रहने गरी टेन्डर गरेको हो। उक्त जग्गाको भाडा अहिले बैंकले वार्षिक १ करोड १५ लाख ३ हजार ३ सय ५६ रुपैयाँ तिर्दै आएको छ। कार्यालयले काठमाडौं महानगरपालिका वडा नम्बर २ को कित्ता नम्बर ४०२, ४०४ र ४९५ नम्बरको जग्गामा बनेको संरचनामा कुनै परिर्वतन नगरी व्यापार व्यवसाय गर्न चाहनेलाई १० वर्षको लिज भाडामा दिने गरी टेन्डर गरेको हो।
कार्यालयले ३० दिनको समय सिमा राख्दै लिज भाडामा लागि सूचना जारी गरेको छ। यस अघि नेपाल ट्रष्ट सञ्चालन समितिको ६४ औं बैठकले भने साविकको लिज सम्झौता अवधि २०७८ जेठ १८मा सकिएपछिको अवधिको हकमा हालै स्वीकृत बजार दर बमोजिमको लिज भाडा तिर्न तयार भएमा एक वर्षको लागि म्याद थप प्रकृयामा जान सकिने निर्णय गरेको थियो। निर्णयसँगै समितिको बैठकले अन्यथा सञ्चालक समितिको ६३ औं बैठकको निर्णय बमोजिम नै उक्त भवनरसंचरना लिज भाडामा लगाउन खुला बोलपत्र आह्वान गर्ने भनेको थियो।
ट्रष्टको ६३ औं सञ्चालक समितिको बैठकले भने उक्त जग्गा प्रतिस्पर्धाबाट भाडामा लगाउने भन्दै निर्णय गरेको थियो। निर्णयको जानकारी बैंकलाई पनि गराइएको थियो। निर्णयको जानकारीपछि बैंकले भूकम्प पछि आफूहरुले ४ करोड भन्दा बढी लगानी गरेको र थप एक वर्षलाई बजार रेट अनुसार भाडा तिर्ने भन्दै जग्गा लिजको समय अवधि थपको लागि आग्रह गरेको थियो। कार्यालयले भने उक्त जग्गा तथा भवन प्रतिस्पर्धाबाट नै लिज भाडामा लगाउने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।