काठमाडौं- नेपाल उद्योग परिसंघ (सिएनआई)ले नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ 'मेक इन नेपाल-स्वदेशी' अभियानका विषयमा सरोकारवालासँग छलफल अघि बढाएको छ। यो अभियानको विषयमा परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गरेको छ।
परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सिएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए।
परिसंघको यस अभियानमा नेपाल सरकारको साथ र सहयोग हुनुपर्ने धारणा राख्दै उनले मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्र माथि उठाउन सकिने बताए। यस अभियानमा सरकाले स्वमित्व बोध गरी स्वदेशी उद्योगहरुको स्थापना र उद्योगहरुलाई आत्मनिर्भर बनाउन सरकारबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने मोरको भनाइ छ।
परिसंघका उपाध्यक्ष अनुज अग्रवाले परिसंघले तयार पारेको अवधारणाको संक्षिप्त प्रस्तुति गर्दै परिसंघले मुख्यगरी ४ वटा आर्थिक खम्बालाई बढी प्राथमिकतामा राखेको बताएका छन्। विशेषगरी यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याई वार्षिक एक लाख पचास हजार औद्योगिक रोजगारी सिर्जना गर्ने लक्ष्य परिसंघले लिएको छ।
परिसंघको लक्ष्य अनुसार पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने र कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने उल्लेख गरे।
उद्योग मन्त्री लेखराज भट्टले नयाँ औद्योगिक क्षेत्रहरुमा उद्योग स्थापनामा परिसंघले पहल गर्नुपर्ने बताउँदै त्यसका लागि सरकारले कुनै किसिमको सुविधा उपलब्ध गराउनु पर्ने भएमा सरकार तयार रहेको बताए। स्वदेशी उद्योग स्थापनासँगै कपास खेतीलाई प्राथमिकतामा राखी नेपालगञ्जको खजुरालाई कपास उत्पादनको पकेट क्षेत्र बनाउनको लागि निजी क्षेत्र अगाडी बढ्नु पर्ने पनि उनले उल्लेख गरे।
छलफलमा परिसंघको तर्फवाट निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु राजेशकुमार अग्रवाल र सुलभ अग्रवाल लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।