काठमाडौं- व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर लागू गर्न माग गरेका छन्। राजस्व परामर्श विकास समितिले विराटनगरमा आयोजना गरेको छलफलमा उनीहरूले भ्याटमा बहुदर कायम गर्न माग गरेका हुन्।
छलफलमा व्यवसायीले नेपाल र भारतबीचको अवैध व्यापार नियन्त्रण गर्न माग गरेका छन्। उनीहरूले एजेन्सी बाहेक आयात गर्न पाउनुपर्ने माग पनि गरे। धातुजन्य पत्रु वस्तुको आयात गर्न पाउने भए पनि पत्रु कागजको पनि आयात गर्न दिन माग गरेका छन्।
छलफलमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले व्यवसायीको सुझावलाई कार्यान्वयन गर्दै जाने बताएका छन्। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीको मागअनुसार नै राजस्व परामर्श विकास समितिको रूपमा स्थायी संयन्त्र गठन भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए।
छलफलमा प्रदेश-१ का प्रमुख सचिव सुमनराज अर्याल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्री, आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्य, भन्सार विभागका महानिर्देशक सुमन दाहाल र समितिका अध्यक्ष महेश दाहाल उपस्थित थिए। त्यस्तै प्रदेश-१ का विभिन्न जिल्लाबाट उद्योगी एवं व्यवसायी छलफलमा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।