काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत् छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन्।
उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहमा ढकालले तीनवटै तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट मुलुकभित्र लगानीमैत्री वातावरण बनाउन सहजीकरण गर्ने हो भने निजी क्षेत्रमार्फत् छोटो समयमा मुलुकको विकास सम्भव रहेको बताए।
'यदि राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गरिदिने हो भने विकास गर्न समय लाग्दैन,' ढकालले भने, 'राज्यले आफूलाई बिना लगानीको पार्टनरका रुपमा निजी क्षेत्रले गरेको लगानीबाट फाइदा लिन सक्छ।'
निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यवसायिकमात्र भएको र नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताए।
ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका ढकालले स्थानीयको माग बमोजिम केही समयभित्रै ग्लोबल आइएमई बैंकको शाखा उदयपुरको कटारीमा पनि खोल्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।