काठमाडौं- राजस्व अनुसन्धान विभागले तीनवटा फर्मविरुद्ध राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ। विभागले वीरगञ्ज र विराटनगरका ती व्यवसायीविरुद्ध मुद्दा दायर गरेको हो।
विराटनगरका सुरेशकुमार राठीविरुद्ध राजस्व छलीको अभियोगमा १५ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। विभागले वास्तविक बिक्री आम्दानीभन्दा घाटा देखाइ मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर छलेको अभियोगमा उच्च अदालत ललितपुर पाटनमा मुद्दा दायर गरेको हो।
राठीले भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टममा विवरण प्रविष्टि नगरी कारोबार गर्ने गरेको पनि विभागले जनाएको छ।
यसैगरी, वीरगञ्ज उपमहानगरपालिका-१० स्थित रजनिश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका संचालक तथा प्रोप्राइटर रजनिशकुमार गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा २५ करोड रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको पनि विभागले जनाएको छ।
उनले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।