काठमाडौं– मध्यपुर ठिमीका मेयर मदनसुन्दर श्रेष्ठमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला नेताहरुले हत्या प्रयास गरेको खुलेको छ। घटनाका मुख्य योजनाकारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी कुशल बोगटीलाई महानगरीय अपराध महाशाखाले मंगलबार बागबजारबाट पक्राउ गरेको हो। महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनको साथबाट ५ वटा मोबाइल र १४ वटा सिमकार्ड बरामद भएको छ। प्रहरीलाई झुक्याउन उनले १४ वटा सिमकार्ड प्रयोग गरेका थिए।
सम्बन्धित समाचार- विप्लवका नेता कुशल, जसले प्रहरीलाई एक महिनासम्म झुक्याए
आक्रमणमा संलग्न नेकपाका ४ जना यसअघि नै पक्राउ परिसकेका छन्। आक्रमणमा परी श्रेष्ठ गम्भीर घाइते भएका थिए। गत बैशाख ७ गते उनीमाथि आक्रमण भएको थियो। आक्रमणमा प्रयोग भएको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।