काठमाडौं- अब सरकारी कर्मचारीको सञ्चय कोष, पेन्सन विवरण तथा सापटी भुक्तानी अनलाइनमार्फत सरकारी लेखा प्रणालीमा जाने भएको छ। सरकारी कर्मचारीहरुको सञ्चय कोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको वास्तविक समय (रियल टाइम) मा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाकंन गर्ने प्रणालीको बुधबार राजस्व सचिव एवं कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले उद्घाटन गरे।
पहिलो चरणमा संघीय तथा प्रदेश सेवा अन्तर्गतका निजामती, प्रहरी र जंगीतर्फ करिब २ लाख ७५ हजार सञ्चयकर्ताहरु यस प्रणालीबाट लाभान्वित हुनेछन्। यो एकीकृत प्रणाली भएकाले यसमा आबद्ध नहुने कर्मचारीहरुले तलबसमेत पाउने छैनन्। यो प्रणालीमा आबद्ध हुन अनिवार्य केवाइसी नवीकरण गर्नुपर्नेछ।
महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषको सहकार्यमा विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) मार्फत् विद्युतीय कोष हस्तान्तरण (इएफटी) गर्ने गरी यस्तो प्रणाली ल्याइएको हो। यो प्रणालीको कार्यान्वयनबाट कारोबारको वास्तविक समयमा नै सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकोले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने,घटीबढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहने लगायतका समस्या समाधान हुनेछन्।
यस्तो प्रणालीको उद्घाटन गर्दै राजस्व सचिव पुडासैनीले सरकारी लेखा प्रणालीको सुधारमा इँटा थप्ने काम भएको बताए। उनले सञ्चय कोष रकम कारोबारको वास्तविक समयमा नै सञ्चयकर्ताको खातामा प्रविष्ट हुने भएकोले सञ्चयकर्ताले छिटो, छरितो र प्रभावकारी सेवा पाउने बताए।
सोही कार्यक्रममा बोल्दै महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणालीले सरकारको डिजिटल गभर्नेन्सको अवधारणा कार्यान्वयनमा ठूलो सहयोग पुग्ने दाबी गरे। कार्यक्रममा कोषका प्रशासक तुलसीप्रसाद गौतमले विद्युतीय सरकारी लेखा प्रणालीको कार्यान्वयनबाट कर्मचारी सञ्चय कोषको फाँटबारी संकलन कार्यमा सरलीकरण र सहजीकरण हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।