काठमाडौैैं– देशभरका यातायात समितिहरु नवीकरण नगर्ने निर्णयपछि सरकारले संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, सेयर र सम्पत्ति छानबिन अघि बढाएको छ।
मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल लगायतको उपस्थितिमा भएको बैठकले उनीहरुको सम्पती छानबिन अघि बढाउने निर्णय गरेको हो। बैठकले संघसंस्थाहरुको चल-अचल सम्पत्ति, सेयर लगायत विवरण १५ दिनभित्र विवरण तयार पारी गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पठाउन देशभरका पुमख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन दिने निर्णय गरेको छ।
यसअघि सरकारले २ सय ४५ वटा समितिहरुको बैंक खाता रोक्का गरेको थियो। सिन्डिकेट खारेजको माग गर्दै गत बैशाख २१ गते देशभरि यातायात ठप्प बनाएको थियो। त्यसपछि समितिविरुद्ध सरकार थप आक्रामक बनेको हो।
मंगलबारको बैठकले बैंक खाता रोक्का गरिएका समिति बाहेक संस्था दर्ता ऐन अनुसार दर्ता भएका अन्य समिति तथा संस्थाहरुको समेत यातायात व्यवस्था विभागले विवरण संकलन गरी अर्थ मन्त्रालयमा पठाउने निर्णय भएको छ। त्यस्तै, बाँकी रहेका सम्पूर्ण यातायात समितिहरुको समेत खाता रोक्का गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।