काठमाडौ– नेपाली उद्योग र व्यवसायको विकासका माध्यमबाट देशको अर्थतन्त्रलाई माथि उकास्न नेपाल उद्योग परिसंघ (सिएनआई)ले स्वदेशी उत्पादनको उपभोग र उपयोगलाई बढावा दिने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। सिएनआईले अघिल्लो साता घोषणा गरेको अभियानका केही महत्त्वाकांक्षी देखिएको छ।
उक्त अभियानमा वर्षमा एक हजार उद्योग संचालनमा ल्याउने, कुल गार्हस्थ उत्पादन (जिडिपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने, हरेक वर्ष डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउनेलगायत योजना समावेश छन्।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सिएनआईले ‘मेक इन नेपाल–स्वदेशी’अभियान सुरु गरेको बताएका छन्।
सरकारको सहमति र सहकार्यमा संचालन गरिने यस अभियानले मुलुकको औद्योगिक विस्तार एवं उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन यस अभियानले थप सहयोग गर्ने विश्वास सिएनआइले लिएको छ। ‘मुलुकको उद्योग व्यवसाय कोभिड–१९ को कारण प्रतिकुल अवस्थामा छ। सरकार र निजी क्षेत्र दुवैले यो महामारीबाट रोजगारी र व्यवसाय बचाउन प्रयासरत छौं,’ अध्यक्ष मोरले भने, ‘तैपनि कतिपय उद्योग व्यवसाय बन्द भएका छन् र कतिपय उद्योग ५० प्रतिशत क्षमतामा संचालन भइरहेका छन्।’ यस्तो परिस्थितिमा स्वेदशी उत्पादन, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्यका साथ सिएनआईले ‘मेक इन नेपाल–स्वदेशी’अभियान सुरु गरेको उनको भनाइ छ।
यस ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको मुख्य लक्ष्य हरेक वर्षमा एक हजार उद्योग संचालनमा ल्याउने, कुलगार्हस्थ उत्पादन (जिडिपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने, हरेक वर्ष डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउनेलगायत महत्त्वकांक्षी योजना छन्। ‘मेक इन नेपाल–स्वदेशी’को नारा ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ रहेको छ।
सिएनआईको यो अभियान अत्यन्त महत्त्वपूर्ण कदम भएको मुख्य सचिव शंकर दास बैरागीले उल्लेख गरे। विभिन्न देशमा यस्तो अभियानआ–आफ्नै ढंगले संचालन गरिरहेको र ती देशले अवलम्बन गरेका अभियानहरुबाट सिकेर नेपालले यस स्वदेशी अभियानलाई अघि बढाउन सकिने बैरागीले बताए।
कार्यक्रममा सिएनआईका प्रमुख आर्थिक सल्लाकार डा. विश्व पौडेलले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका लक्ष्यहरु र त्यसलाई हासिल गर्ने रणनीतिबारे प्रष्ट्याएका थिए। उनले व्यवसायमैत्री वातावरण, आत्मनिर्भर हुन सक्ने उद्योगहरुको उत्पादनलाई प्रोत्साहन एवं सहयोग गरेर, सेवा क्षेत्रलाई आधुनिकीकरण गरि सर्वसाधारणमा स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान चलाएर ‘मेक इन नेपाल–स्वदेशी’का लक्ष्य हासिल गर्न सकिने दाबी गरे।
‘हामीले पाँच वर्षमा ‘डुइङ बिजनेस इन्डेक्स’ मा ३०औं स्थानमाथि उक्लने लक्ष्य लिन सक्छौं। यसका लागि व्यवसाय सुरु गर्ने प्रक्रियालाई सहज बनाउने र डिजिटलाइजेसनलाई प्रोत्साहित गर्नुपर्छ,’ डा. पौडेलले भने। नेपाली सेवा र वस्तु उपभोग बढाउन अभियान नै चलाउनुपर्ने बताउँदै उनले नेपाली उत्पादनको प्रमुख उपभोक्ता नेपाल सरकार नै भएको भन्दै यस प्रयोजनको लागि सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिए।
परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आयात प्रतिस्थापन र स्वदेशमानै सामानहरुको उत्पादनलाई विशेष प्राथमिकतामा राखी यो अभियानको परिकल्पना गरेको बताए। ‘मेक इन नेपाल–स्वदेशी’ एउटा महानअभियान हो जसको उद्देश्य स्वदेशी र अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आफ्नो उत्पादन र लगानी नेपालमै गर्न प्रोत्साहित गर्नु हो,’ वरिष्ठ उपाध्यक्ष अग्रवालले भने, ‘यो अभियानले नेपाललाई उत्पादनको केन्द्र बनाउने छ, विदेशी लगानीलाई आकर्षित गर्नेछ र लाखौं रोजगारी सिर्जनागर्ने छ। नेपालमा व्यवसाय गर्न सहज बनाउने र नेपालको अर्थतन्त्र विस्तार र वृद्धिका लागि यो महत्त्वपूर्ण सावित हुनेछ।’
अग्रवालले कार्यक्रममा आएका सल्लाह र सुझावहरु सान्दर्भिक र उपयोगी भएको उल्लेख गर्दै तिनीहरुलाई समेटेर परिसंघले अझ प्रष्ट र परिपक्व तवरबाट यो अभियानलाई अघि बढाउने बताए।
सो कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले स्वदेशी अभियानको महत्त्वबारे उल्लेख गरेका थिए। कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरु, सिएनआईका सदस्यहरु त्था निजी क्षेत्रका उद्योगीव्यवसायीको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।