काठमाडौं– राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४ औं वर्षमा प्रवेश गरेको छ। पूर्ण सरकारी स्वामित्वको यो कम्पनीले चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा नेपालको जीवन बीमा क्षेत्रमा ८.५९ प्रतिशत हिस्सा रहेको जनाएको छ।
संस्थानको लेखापरीक्षण र वार्षिक साधारण सभा भने पछिल्लो १२ वर्षदेखि हुन सकेको छैन।
जीवन बिमा सेवा प्रदायक संस्थाहरुको कूल संकलित बीमा शुल्क ६६ अर्ब १६ करोड मध्ये संस्थानले ५ अर्ब ६८ करोड रुपैयाँ बराबर संकलन गरेको जनाएको छ।
संस्थान जीवन बीमा कोषको आधारमा चौंथो र बीमाशुल्क संकलनको आधारमा तेस्रो स्थानमा छ। गत पुस मसान्तसम्ममा कुल बीमालेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थानको मात्रै ७ लाख ३५ हजार ८१९ बीमालेख सहित पाचौं स्थानमा छ।
५४ औं वार्षिकोत्सवको अवसर पारी संस्थानले नयाँ योजना ‘आवधिक जीवन बीमा (टर्म लाइफ इन्स्योरेन्स) सार्वजनिकसमेत गरेको छ।
संस्थानका प्रशासक कवि प्रसाद पाठकका अनुसार संस्थानको लेखापरीक्षण र साधारणसभा १२ वर्षदेखि हुन सकेको छैन। जीवन बीमामा बीमाङ्कीय मूल्याङ्कन नभई लेखापरीक्षण कार्य सम्पन्न नहुने हुँदा संस्थानको साधारणसभा हालसम्म हुन नसकेको हो।
संस्थानले ६ वर्षको बीमाङ्कीय मूल्याङ्कनको कार्य सम्पन्न गरी स्वीकृतिको लागि बीमा समितिमा पठाइएकोमा हालसम्म ३ वर्षको मात्रै स्वीकृति प्राप्त भएको पाठकले बताए।
अघिल्लो अवधिको स्वीकृति प्राप्त हुनासाथ मिलाउनुपर्ने विषयहरु समायोजन गरी स्वीकृतिको लागि समितिमा पठाइने भन्दै उनले भने, ‘बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन र अघिल्लो वर्षको वित्तीय विवरण स्वीकृत नभई पछिल्लो वर्षको लेखापरीक्षण कार्यलाई अन्तिमरुप दिन नसकिने बाध्यताका कारण संस्थानको लेखापरीक्षण सम्पन्न गर्न कठिन भएको छ। उक्त प्रतिवेदनहरु तथा वित्तीय विवरणहरु समितिबाट स्वीकृति प्राप्त हुनासाथ बाँकी अवधिको लेखा परीक्षण हुन्छ।’
त्यस्तै वार्षिकोत्सब समारोहमा बोल्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा बजारमा अगाडि बढ्न संस्थान प्रयासरत रहेको बताए।
‘संस्थानले पारदर्शिता र सुशासनको माध्यमद्घारा सर्वसाधारणको संस्थानप्रतिकाृ विश्वसनियता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनुस,’ उनले भने।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले व्यवसायिक क्षेत्रमा हने जोखिम न्यूनीकरण गर्दै सुरक्षित व्यवसाय सुनिश्चित गर्न बीमा क्षेत्रको भूमिका महत्वपूण हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।