काठमाडौं– काठमाडौंस्थित भारतीय दूतावासको नक्कली ‘नो अब्जेक्सन लेटर’ लिई अध्यागमन अधिकारीहरुलाई झुक्याएर क्यानडा जान खोज्ने तीन जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शनिबार तीन भारतीय युवकहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा निखिल गार्स, अमित गार्स र सुमित गार्स रहेका छन्। अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।
उनीहरुले पेस गरेको ‘नो अब्जेक्सन लेटर’ शंका लागेर बुझ्दा नक्कली भएको खुलेपछि पक्राउ गरिएको अध्यागमन कार्यालय विमानस्थलका प्रमुख होमनाथ थपलियाले बताए। अनुसन्धानको क्रममा उनीहरुको क्यानडाको भिसासमेत नक्कली भएको खुलेको छ।
मे १०, २०१८ को मिति राखेर दूतावासले जारी गरेको ‘नो अब्जेक्सन लेटर’ उनीहरुले अध्यागमनमा पेस गरेका थिए। सो लेटरमा उनीहरुलाई अवरोधबिना क्यानडा जान दिन आग्रह गरिएको थियो।
दूतावासका कन्सुलर सोनाम आंचुकको हस्ताक्षर रहेको नो अब्जेक्सन लेटर उनीहरुले बनाएका थिए। जबकि गत डिसेम्बरमा नै उनको काठमाडौंस्थित दूतावासबाट सरुवा भइसकेको छ।
स्रोतका अनुसार नेपालको अध्यागमनमा सेटिङ मिलाएर भारतीयहरुलाई विदेश उडाउने समूहले सो सबै नक्कली कागजपत्र तयार पारेको थियो। तर, अध्यागमनमा सेटिङ बिग्रिएपछि उनीहरु पक्राउ परेका हुन्।
दुई महिनाअघि मात्र हङकङ जान लागेका ४ भारतीय युवतीलाई प्रहरीले पक्राउ गरेको थियो। तर, अध्यागमनले यस्तो काममा संलग्न गिरोहमाथि अनुसन्धान र कारबाही गर्न नसक्दा उनीहरुले आफ्नो धन्दा चलाइरहेका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।