काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रका अधिकांश चमेनागृहहरूमा म्याद गुज्रिएका र अखाद्य वस्तुहरु बिक्री वितरण हुने गरेको पाइएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार गरेको संयुक्त अनुगमनका क्रममा सिंहदरबारभित्रका चमेनागृहहरुमा उपभोग्य मिति सकिएका सामान बेच्न राखेको, सरसफाइमा लापरबाही गरेको तथा अप्रमाणित नापतौल मेसिन प्रयोग गरेको भेटिएको हो।
सिंहदरबारभित्रका कर्मचारी र सेवाग्राही लक्षित केन्द्रिय क्यान्टिन (कन्चन चमेना गृह), अर्थ मन्त्रालय परिसरमा संचालित क्यान्टिन म्यानेजमेन्ट सर्भिस र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा संचालित गोसाइँकुण्ड भोजनालयमा मापदण्ड विपरीतका खाद्यवस्तु बिक्री वितरण भएको भेटिएको हो।
वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईंकाअनुसार ती चमेनागृहहरुले नियमन, व्यवसाय संचालन तथा कारोबार सम्बन्धी कागजातसमेत देखाउन सकेनन्। उनका अनुसार उपभोग्य म्याद सकिएका खाद्य वस्तु बेचेको, भान्सामा फोहोर गरेको तथा सरसफाइमा लापरबाही गरेको र नापतौलका लागि राखिएका मेसिनहरुसमेत अप्रमाणित रहेको भेटिएको छ।
ती क्यान्टिनहरुबाट ३ हजार १ सय ४५ रुपैयाँ बराबरको पेय पदार्थ र बेच्न राखिएका अरु खाद्य सामग्री बरामद गरी नष्ट गरिएको पनि विभागले जनाएको छ। त्यस्तै, केन्द्रीय क्यान्टिनलाई १० हजार रूपैयाँ जरिवाना गरिएको र व्यवसाय संचालन तथा कारोबारसँग सम्बन्धित कागजातहरु पेश गर्न पनि निर्देशन दिईएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।