तनहुँ- तनहुँको देवघाट गाउँपालिका-१ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ। देवघाट गाउँपालिका-५ स्थित देवपुरबाट ११ केभी लाइनमार्फत् कालीटार, कोटा र गोपीटारमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो।
त्यस क्षेत्रमा अहिले लघु जलविद्युतमार्फत् विद्युत् आपूर्ति भइरहेको थियो। राष्ट्रिय ग्रिड पुगेकाले अब त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ।
तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको ग्रामिण विद्युतीकरण कार्यक्रमअन्तर्गत् विद्युत् विस्तार गरिएको हो। नेपाल विद्युत प्राधिकरणमार्फत् कार्यान्वयन भइरहेको कार्यक्रममार्फत् तनहुँलाई पूर्ण विद्युतीकरण गरिने छ।
विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ११ केभी लाइन र ३ वटा ट्रान्सफर्मर बिहीबार संचालन (चार्ज) गरिएको तनहुँ विद्युतीकरण आयोजनाका साइट इन्चार्ज लक्ष्मण रेग्मीले जानकारी दिए।
‘लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौं, तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्ने छ,’ उनले भने, 'लाइन पुगेपछि त्यस क्षेत्रका करिब ५ सय घरधुरी लाभान्वित हुनेछन्।’
विद्युत आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक/एक वटा ट्रान्सफर्मर राखिएको छ। केही दिनअघि घिरिङ गाउँपालिका–१ मा पनि राष्ट्रिय प्रसारण लाइन पुर्याइ विद्युत् आपूर्ति सुरु गरिएको छ।
तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग १३ मंसिर २०७५ मा ठेक्का सम्झौता भएको थियो।
ठेक्का सम्झौताको रकम अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र १४ करोड ८८ लाख रुपैयाँ रहेको छ। ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरि सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ। कम्पनी ३३/११ केभी वितरण लाइन निर्माण गर्ने छ।
कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेसन निर्माणाधीन छन्। ग्रामिण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कामहरु यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।