काठमाडौं- एक समय नेपाली फुटबलमा उचाइ लिइसकेको नाम हो, रविन श्रेष्ठ। चोटका कारण मैदानबाट बाहिर रहेका उनले फर्कने पर्खाइमा नै लामो समय बिताइसके। उनको आखाँअघि अहिले पोखरामा अभ्यास गरिरहेको राष्ट्रिय टिमको झझल्को छ। त्यसभन्दा बढी टिमका साथीहरुको। तर, चोटले उनलाई यसरी फुर्सदिलो बनाइदियो, रोकिएको प्रहरी सहायक निरीक्षकको तालिम पूरा गरे, काठमाडौंमा घर बनाउन भ्याए।
सानो कदका रविन विपक्षी टोलीका स्ट्राइकरलाई मुस्किल पार्ने खेलाडी हुन्। उमेर समूहदेखि राष्ट्रिय टिमसम्म उत्कृष्ट प्रदर्शन गरेका उनको नाम पछिल्लो समय हराइरहेको छ। उत्कृष्ट प्रदर्शन गर्दागर्दै चोटको शिकार बनेका रविन करिब चार वर्ष जति नै राष्ट्रिय टिम बाहिर छन्। २०७३ को चैतमा एशियन कप छनोटको दोस्रो चरणमा फिलिपिन्सविरुद्ध खेल्दै गर्दा उनले चोट बोकेका थिए।
खेलको अन्त्यतिर ‘एयर बल’ लाई नियन्त्रण गर्ने क्रममा दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो। तत्काल उनलाई निकाल्दै उनको स्थानमा विराज महर्जनलाई मैदानमा प्रवेश गराइएको थियो। त्यो दुर्घटना नै रविनका लागि करियरकै दुःखद बन्यो। जसपछि पुरानै लयमा फर्किन उनी अझै पनि ठूलो संघर्ष गरिरहेका छन्।
उत्साहित खेल
उनलाई सानोदेखि नै फुटबल खेल्ने रहर थियो। हुन त उनी स्कुलमा हुँदा सबै खेलहरु खेल्थे। तर, यसमध्ये पनि बढी त फुटबल नै। महोत्तरी जिल्लामा बाल्यकालमा फुटबल खेल्दा राष्ट्रिय टिमबाट खेल्छु भन्ने कल्पना पनि थिएन उनमा। कति पटक साथीको लहलहैमा लागेर खेले त कति पटक आफ्नै रुचिमा। तर, सोच मनोरञ्जनबाहेक अर्को थिएन।
८–१० वर्षको उमेरमा जिल्ला प्रहरी कार्यालयको चौरमा रविन गाउँका साथीहरूसँग फुटबल खेल्थे। बाबु तौलेश्वरप्रसाद श्रेष्ठ र आमा जानदेवी गौतम श्रेष्ठको कोखबाट जन्मिएका रविन कुनै स्टार खेलाडीको सिको गर्दै फुटबल खेलेका होइनन्। न त राम्रो खेल्ने कुनै वातावरण नै भएर। खेल्दा खेल्दै, बल छुँदा छुँदै खेल्ने रहर जाग्यो। गाउँ, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय जगतमा प्रतिभा देखाउने भावनाहरु सिर्जना भए।
दिनहरू बित्दै जाँदा रविनको खेल पनि उमेरसँगै निखारिँदै थियो। स्थानीय चौरमा फुटबल खेल्ने रविनलाई उनका काकाले जलेश्वरको ‘ए’ टिमबाट खेल्नका लागि आग्रह गरे। त्यहीँबाट खेल्न थालेपछि उनको फुटबलप्रतिको मोह बिस्तारै बढ्दै गयो। प्रदर्शन पनि निखारिँदै।
सानै उमेर भए पनि स्थानीय प्रतियोगिता हुँदा जलेश्वर ‘ए’ टिमबाट उनले १०–१२ मिनेट फुटबल खेल्न पाउँथे। ‘टिममा ठूला दाइहरू भएका कारण परिवर्तित खेलाडीमैं हुन्थें’ रविन सम्झन्छन्। जिल्लाबाटै नेपालगञ्जमा भएको खुकुरी कप समेत खेलेको सम्झना रविनसँग छ।
स्ट्राइकरदेखि डिफेन्डरसम्म
२०६० सालमा जिविस कप भएको थियो। जिविस कपलाई एएफसी यु–१४ फुटबल फेस्टिभलका लागि खेलाडी छनोटका रूपमा पनि लिइएको थियो। सानो गौचरणमा सम्पन्न यु–१४ जिविस कपमा कप्तानको भूमिका निर्वाह गर्दै रविनले महोत्तरी जिल्लाको प्रतिनिधित्व गरेका थिए। कप्तान रविनले जिविस कपमा राम्रो प्रदर्शन गरेपछि एन्फाले उनलाई एएफसी यु–१४ फुटबल फेस्टिभलका लागि बोलायो।
२००४ सालमा भएको फेस्टिभलमा नेपाल पहिलो भएको थियो। फेस्टिबलमा रविनले उत्कृष्ट प्रदर्शन गरे। तुर्कमेनिस्तान, पाकिस्तान, भारत, उज्वेकिस्तान र भुटानविरुद्ध राम्रो प्रदर्शन गरेपछि एन्फाले उनलाई एन्फा एकेडेमीमा भर्ना हुन बोलायो।
एन्फा एकेडेमीमा आफ्नो खेल कौशल निखार्दै गरेका रविनले उमेर समूहमा थुप्रै प्रतियोगिता खेले। त्यतिबेला एन्फाका यु–१४ टिमलाई सुनिल श्रेष्ठ र डिकेन सुवालले प्रशिक्षण दिने गर्थे।
यु–१७ मा आइपुग्दा त्यतिबेला प्रशिक्षक थिए, राजुकाजी शाक्य। यु–१७ एशिया कप छनोट नजिकिँदै थियो। नेपालमै हुने छनोट खेलका लागि नेपाली यु–१७ टिम तयारीमा जुटिरहेको थियो। एशिया कपमा छनोट भएरै छोड्ने नेपालको अठोट थियो। त्यसैअनुसारको प्रशिक्षण थियो। टिममा एक भरपर्दा सदस्य थिए रविन। छनोट खेलमा रविनको प्रदर्शन निकै उत्कृष्ट थियो।
कीर्गिस्तान र उज्वेकिस्तानसँगै घरेलु टोली नेपाल एउटै समूहमा थियो। पहिलो खेलमा कीर्गिस्तानलाई २–१ ले पराजित गरेको नेपालले दोस्रो खेलमा भने उज्वेकिस्तानलाई २–० ले पराजित गर्दै २००६ मा सिंगापुरमा भएको एशिया कपमा छनोट भयो। त्यतिबेला नेपाली यु–१७ टिममा भरत खवास, विराज महर्जन, रन्जित श्रेष्ठ, दीपक भूसाल, रोशन कार्की, चेतन घिमिरे, विकास सिंह क्षेत्रीलगायतका खेलाडी रविनका साथी थिए। सिंगापुरमा सम्पन्न यु–१७ एशिया कपमा जापान, उत्तर कोरियासँग पराजित भएको थियो। आयोजकसँग भने नेपालले बराबरी खेल्यो।
उनले यु–१७ एशिया कप छनोटदेखि डिफेन्सबाट खेल्न थाले। त्योभन्दा अघि उनी स्ट्राइकरको भूमिकामा मैदानमा देखा पर्थे। तत्कालीन प्रशिक्षक शाक्यले डिफेन्समा राम्रो भएको भन्दै डिफेन्डरको भूमिकातर्फ प्रेरित गराए। उमेर समूहमा फरवार्डबाट खेलेका रविनमा अझै पनि त्यो गुण देखिन्छ। डिफेन्सबाट खेले पनि आक्रमक रुपमा विपक्षीको पोष्टमा उनी प्रस्तुत हुन्छन्।
तर, उनी फरवार्डमा भन्दा डिफेन्समा खेल्न पाउँदा खुसी छन्। भन्छन्, ‘आफ्नो पोजिसन परिवर्तन गरेकोमा अहिले ठीक गरेजस्तो लाग्छ। किनभने मेरो शरीरले पनि मलाई फरवार्डको भूमिका निर्वाह गर्न त्यति साथ दिन्थेन होला।’
क्लब यात्रा
पुलिसका स्थायी जागिरे रविन भरखरै चितवनमा असईको तालिम सकेर विदामा छन्। ४८ दिनको अनिवार्य लिनै पर्ने तालिम उनले पूरा गरेका हुन्।
उनी भन्छन्, ‘क्लबको अभ्यास भइरहेको छ। तालिमबाट फर्किने वित्तिकै मैले अभ्यास गरेँ। तालिमले गर्दा फ्रेस हुन पाएको छैन। त्यसैले केहीदिनको बिदामा छु।’
रविन नेपाल पुलिस क्लबमा आबद्ध भएको १४ वर्ष भयो। उनले आफ्नो खेल करिअरमा नेपाल पुलिसबाट नै खेलिरहेका छन्। सुरुवाती केही समयमा संकटा क्लबबाट पनि फुटबल खेलेको उनमा सम्झना छ।
२०६३ सालमा रविन संकटा क्लबमा आबद्ध भए। अखिल नेपाल फुटबल संघ (एन्फा) र संकटा क्लब बीच भएको सम्झौताअनुसार नै एन्फा एकेडेमीबाट उत्पादित खेलाडीहरू क्लबमा आबद्ध भएका थिए।
शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबबाट पहिलो पटक मैदानमा छिरेका रविनको खेलबाट सबै अचम्म परे। सानो कदका भए पनि छरिता उनीप्रति अन्य क्लबको आँखा परिसकेको थियो। त्यो बेला रविनले ए डिभिजन लिगमा डेब्यु गर्दा लिग भने विभागीय टिम पुलिसले जित्यो। त्यतिबेला घरेलु फुटबलमा पुलिसको एकछत्र राज थियो। अधिकांश प्रतियोगिताको उपाधि पुलिसकै पोल्टामा जाने गर्थ्यो। संकटामा आबद्ध भएको त्यही वर्षको अन्त्यतिर रविन लिग च्याम्पियन पुलिसमा अनुबन्धित भए।
उनले नेपाल पुलिस क्लबलाई थुप्रै प्रतियोगिताको उपाधि जिताएका छन्। यो लामो अवधिमा उनले आहा गोल्डकप, शहीद स्मारक ए डिभिजन लिग, बूढासुब्बा गोल्डकप, मनकामना गोल्डकप, शहीद गोल्डकप लगायतका प्रतियोगिताको उपाधि पुलिसलाई दिलाएका छन्।
रविनकै कप्तानीमा रहेको नेपाल पुलिस क्लबले झिलझिलेमा सताछी गोल्डकपको उपाधि जितेको थियो। ब्रिटिस गोर्खा कपलगायत प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई जिताएका रविन अझै क्लबका लागि केही गर्नुछ भन्छन्।
‘र्याम्बो’ को डेब्यु
अञ्जानमा खेल्दा फुटबलमा रविनको न सपना थियो, न केही आशा। रमाइलोका लागि खेलेका रविन जब फुटबल बुझ्दै गए यसभित्र गहिरिएर सोचे। उमेर समूह हुँदै उनको इच्छाहरुले राष्ट्रिय टिमको ढोका ढक्ढक्याउँदै थियो। उनका बुटले अन्तर्राष्ट्रिय एरिना टेक्ने मौका कुर्दै थियो।
सन् २००८ मा भारतको हैदरावादमा सम्पन्न एएफसी च्यालेन्स कपको फाइनल राउण्डबाट रविनले राष्ट्रिय टिममा डेब्यु गरे। उत्तर कोरियाविरुद्धको खेलमा रविनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए। डेब्यु खेललाई सम्झिँदै रविन भन्छन्, ‘अञ्जन केसी दाइको ठाउँमा मलाई टिममा राख्नुभएको थियो। राति नै मलाई प्रशिक्षकले ‘भोलि तिमी उत्तर कोरियासँग खेल्दैछौ’ भन्नु भएको थियो। मलाई एकदमै उत्सुकताका साथै डर पनि थियो।’
त्यो खेलमा रविनले पूरै समय खेलेका थिए। टिममा सबैभन्दा कान्छा खेलाडी पनि उनै थिए। जुनियर भए पनि निडरताका साथ उनले खेलेका थिए। १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका रविन अहिले ३० वर्षका भए। २०१० देखि नेपाली टिममा निरन्तर पर्दै आएका रविन २०१७ पछि भने टिम बाहिर छन्। उनको लागि यो टिम बाहिरको अवधि करियरकै नरमाइलो क्षण हो।
फुटबलमै जीवन समर्पित गरेका रविन त्यतिबेला खुसी लाग्ने गरेको बताउँछन्, जब उनी राष्ट्रिय टिमबाट खेलिरहेका हुन्छन्। २०१३ मा नेपालमा सम्पन्न साफ च्याम्पियनसिपमा भारतलाई हराउँदा निकालेको सुन्दर पास अझै पनि उनको आँखाअघि आइरहन्छ। ‘मेरो आफ्नै डिबक्सदेखि कुदेर सेन्टरमा बल पाएको थिएँ। निकै अगाडि बढेर पास जुमानु राईलाई दिएँ। जुमानुले गोल गरेपछि नेपालले भारतमाथि २–० ले अग्रता बनाएको थियो।’
त्यो समूह चरणको खेलमा नेपालले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तानसँग १–० गोलले हार्दै बाहिरिएको थियो।
नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरथोर उपलब्धिहरु पनि पाएको छ। ती उपलब्धिका हिस्सेदारमध्येका एक रविन पनि हुन्। बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कपको उपाधि नेपालले उचाल्दा रविनले राम्रो प्रदर्शन गरेका थिए। उनको अविस्मरणीय क्षण भनेकै त्यही उपाधि जित्दा थियो। ‘बंगबन्धु र सोलिडारिटी कप देशमा भित्र्याउन पाउनु मेरा लागि एकदमै अविस्मरणीय क्षण थियो’, उनी भन्छन्।
२०७० साल वैशाख ११ गते मनिषा श्रेष्ठसँग लगनगाँठोमा बाँधिएका रविनको एउटा सपना भने पूरा भएको छ। काठमाडौंमा एउटा घर बनाएरै छाड्ने लक्ष्य लिएका रविनले केही समयअघि मात्रै नैकापमा घर बनाएका छन्। रविन भन्छन्, ‘काठमाडौंमा घर बनाउने सपना थियो। त्यो पूरा भएको छ। नैकापको फुटबल मैदानभन्दा अलिक तल घर बनाएको छु।’
राष्ट्रिय टिमबाट खोजी
राम्राको सधैं खोजी हुन्छ। त्यही भएर त लामो समयपछि पनि राष्ट्रिय टिममा रविनको बेलाबखत खोजी हुन्छ। अहिले पोखरामा राष्ट्रिय टिमले अभ्यास गरिरहेको छ। करिब एक महिना काठमाडौंको अभ्यासपछि नेपाली फुटबल टिम विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनको लागि लक्षित गरेर पोखरामा अभ्यास गरिरहेको हो।
बन्द प्रशिक्षणअघि ५८ सदस्यीय खेलाडी छनोट हुँदा रविनको पनि खोजी भएको थियो। तर, उनी असईको तालिममा व्यस्त थिए। रविन भन्छन्, ‘राष्ट्रिय टिमबाट मलाई खोजी गरिएको पनि थियो। तर, त्यो समयमा म तालिममा भएको कारण उपलब्ध हुन सकिनँ। तालिम मैले लिनै पर्ने थियो।’
त्यसो त रविन अहिले पूर्ण रुपमा ठीक भइसकेका छन्। चोटमुक्त भएका रविन थप्छन्, ‘तालिमको कारण यो दुई महिना फुटबलबाट टाढा भएँ। अभ्यास गर्न पाइनँ। तर, फेरि पुरानै लयमा फर्किहालिन्छ। फिटनेसको समस्या पनि हुने होइन। फुटबलमा भिज्न मात्रै गाह्रो हो।’
राष्ट्रिय टिममा पुनरागमन गर्दै फेरि अन्तर्राष्ट्रिय खेल खेल्ने उनको लक्ष्य छ। उनीसँगैका भरत, विराज अझै खेलिरहेका छन्। रविन पनि अझै खेल्ने बताउँछन्। ‘लक्ष्य त राष्ट्रिय टिमबाट फेरि खेल्छु भन्ने नै हो। उमेर र स्वास्थ्यले धेरै लामो समय राष्ट्रिय टिमबाट खेल्छु भन्ने अपेक्षा पनि होइन। तर राष्ट्रिय टिमबाट नखेली छोड्न मनले मानेको छैन। राम्रै छाप छोडेर राष्ट्रिय टिमबाट बिदा लिने विचारमा छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।