काठमाडौं– नेपाली युवा फुटबल टोली भारतसँग पराजित हुँदै दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।
बिहीबार कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न दोस्रो सेमिफाइनलमा भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले गोल गरे। सबै गोल दोस्रो हाफमा भएको थियो। भारतले नेपालमाथि दबाब बनाए पनि पहिलो हाफमा गोल गर्न सकेको थिएन।
खेलको ६१औं मिनेटमा भारतले अग्रता लियो। ८०औं मिनेटमा नेपालले काउन्टर आक्रमणमा गोल खायो। इन्जुरी समयको अन्तिम सेकेन्डमा भारतले तेस्रो गोल गर्यो।
भारत लगातार पाँचौं संस्करण फाइनलमा प्रवेश गरेको हो। एक संस्करणबाहेक सबैमा फाइनल पुगेको भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ।
शनिबार फाइनलमा भारतले बंगलादेशको सामना गर्नेछ। दुबै टोली लगातार तेस्रो संस्करण फाइनलमा एक-अर्कासँग भिड्न लागेका हुन्। पछिल्ला दुबै संस्करणमा भारतले बंगलादेशलाई समान २–० को नतिजामा हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।