काठमाडौं- प्रदेश १ मा सार्वजनिक निजी साझेदारी मोडलमा पूर्वाधार विकास लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सहयोग गर्ने भएको छ। प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको छ।
प्रदेश १ मा रहेका संभाव्य आयोजना अघि बढाउन र उनीहरूको वित्तीय तथा प्राविधिक विश्लेषण गर्न, परियोजनाको बजारीकरण गर्न र विकासकर्ता छनौट गर्न बैंकले सहयोग गर्नेछ। यस्तै बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी आयोजना अघि बढाउन सहयोग गर्ने पनि समझदारीमा उल्लेख छ।
समझदारीमा प्रदेश १ को सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा निर्देशक कोइरालाले प्रदेश नं १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बिमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भैसकेको जानकारी दिएका छन्।
पूर्वाधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्य लिई, सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ सँग समझदारीपत्रमा हस्ताक्षर गरेसँगै आगामी दिनमा मुलुकका अन्य प्रदेश सरकारहरु एवं स्थानीय निकायहरुसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।