राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ लाई सोमबार एक कार्यक्रमका बीच जातीय भेदभाव तथा छुवाछुतमुक्त वडा घोषणा गरिएको छ।
छिन्नमस्ता मन्दिर नजिकैको धर्मशाला परिसरमा आयोजित कार्यक्रममा २ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री नबलकिशोर साह (रामबाबु)ले छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ लाई छुवाछुतमुक्त वडा घोषणा गरेका हुन्।
छुवाछुतमुक्त वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सामाज विकासको बाधककै रुपमा रहेको जातीय भेदभाव र छुवाछुतलाई अन्त्य गर्न जनचेतनासँगै कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए।
नेपाल यसअघि नै छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेको स्मरण गराउँदै उनले रुढीवादी परम्परा र जनचेतनाको अभावका कारण सामाजमा अझै छुवाछुत कायम रहेकाले जनचेतनासँगै कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्रकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य सुनितादेवी राम, सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डे, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, मधेशी दलित विकास महासंघका अध्यक्ष विशेश्वर रजक, तत्कालिन छिन्नमस्ता गाविसका पूर्व अध्यक्ष सत्यनारायण यादव, जिल्लास्तरीय मानव अधिकार पैरवी सञ्जालका अध्यक्ष बलदेव मण्डल र छिन्नमस्ता शक्तिपीठका पिठाधीश महाकान्त ठाकुर लगायतले जातीय भेदभाव तथा छुवाछुतमुक्त वडा घोषणालाई व्यावहारिक रुपमा कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।