काठमाडौं- नेपाल विद्युत प्राधिकरणको १७औं कार्यकारी निर्देशकको रूपमा हितेन्द्रदेव शाक्यले जिम्मेवारी सम्हालेका छन्। प्राधिकरण प्रमुखको कार्यभार सम्हाल्दै शाक्यले अहिले विद्युत क्षेत्रको मुख्य चुनौती विद्युत माग बढ्न नसक्नु रहेको बताएका छन्।
`अब हाम्रो चुनौती जसरी पनि विद्युत माग बढाउनु हो। एक वर्षभित्रै एक हजार मेगावाट विद्युत प्रणालीमा थपिन्छ। ६ हजार मेगावाट भन्दा बढी उत्पादन क्षमता रहेका आयोजनाको पिपिए भइसकेको छ। दशौं हजार मेगावाटका आयोजना लाइसेन्स पाइसकेर पिपिए गर्ने क्रममा छन्। हामीले भएका पिपिएलाई प्रशारणलाइन उपलब्ध गराउन सकेको छैन´, शाक्यले भने।
संस्थाको चुनौती हिजोको भन्दा फरक रहेको पनि उनले बताए। `अहिले विद्युत माग अनुसार आपूर्ती हुन हुन सकेको छैन। उत्पादन भएपनि प्रशारण र वितरणमामा पर्याप्त पूर्वाधार बनिसकेका छैनन्। प्रशारण र वितरणका आयोजनामा मात्र वार्षिक ५० अर्ब रूपैयाँ आवश्यक छ´, शाक्यले भने। अहिले देशभर ४ हजार किलोमिटर सर्किट विद्युत लाइन संचालनमा रहेको छ भने ३ हजार किलोमिटर सर्किटलाई निर्माणाधीन छ।
त्यस्तै, विद्युत माग बढाउनका लागि प्राधिकरणले औद्योगिक क्षेत्रको माग एक हजार मेगावाटसम्म बढाउनका लागि अध्ययन गरिरहेको पनि उनले बताए। प्राधिकरणले आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर कर्पोरेट डेभलपमेन्ट प्लान बनाएर त्यसलाई संचालक समितिले स्वीकृत गरिसकेको र कार्यान्वयनमा आउने चरणमा रहेको शाक्यले बताए। प्राधिकरणभित्र हुने कर्मचारी सरुवा-बढुवाको गुनासो सम्बोधन गर्ने आश्वासन पनि उनले कर्मचारीलाई दिएका छन्।
शाक्यले आफूले प्राधिकरणमा ३२ वर्ष ६ महिना विभिन्न पदमा रही कार्य जिम्मेवारी पूरा गरेको स्मरण गर्दै कार्यकारी निर्देशकको जिम्मेवारी पनि पूरा गर्ने बताए। `सबैलाई केही नपाउन्जेल पाउने इच्छा रहने र पाएपछि त्यसको बोझले गाह्रो हुने रहेछ। मैले त्यो महसुस गरेको छु,´ उनले भने।
यसअघि नायव कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका शाक्यलाई सरकारले ४ वर्षका लागि कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।