काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप भएको बताएका छन्।
'सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको छ। संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको छ', पौडेलले ट्विटरमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका छन।
उनले झाँक्रीलाई पक्राउ गरिएको घटनाको घोर भर्त्सना गर्दै बिनाशर्त रिहा गर्न माग गरेका छन्।
बिहीबार बिहान झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको थियो। तर, प्रहरीले पक्राउ पूर्जी नलगेको र झाँक्रीका समर्थक बाक्लो संख्यामा उपस्थित भएकाले प्रहरी पछि हटेको थियो। झाँक्रीले पक्राउ पूर्जी ल्याए आफू गिरफ्तारी दिन तयार रहेको भनेपछि सोही अनुसार उनी गिरफ्तार भएकी थिइन्।
गिरफ्तारी दिनुअघि झाँक्रीले समर्थकलाई सम्बोधन गरेकी थिइन्। आफूहरुले कहिल्यै नखोसिने लोकतन्त्रको लागि लडेको बताएकी थिइन्। सम्बोधनमार्फत् उनले लोकतान्त्रिक अधिकार खोसिएको संकेत गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।