काठमाडौं- नेकपाको प्रचण्ड-माधव पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई उनलाई भेट्न पुगेका छन्।
राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मिनभवन राखिएको छ। प्रवक्ता श्रेष्ठ झाँक्रीलाई भेटेर बाहिरिहेका छन् भने भट्टराईले छलफल गरिरहेका छन्।
यसैबीच, प्रवक्ता श्रेष्ठले विज्ञप्ति जारी गर्दै संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको बताएका छन्।
‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भर्त्सना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।