काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी थमाएको छ। पक्राउ पूर्जीमा राज्य विरुद्धका कसुर भनिएको छ।
मुलुकी फौजदारी अपराध संहिताको भाग–२ फौजदारी कसुरहरु परिच्छेद–१ राज्य विरुद्धका कसुर अन्तर्गत उनलाई पक्राउ गरिएको हो। उनले आफ्नै निवासबाट स्वेच्छिक गिरफ्तारी दिएकी हुन्।
प्रहरीले संहिताको दफा ५८ को कसुर झाँक्रीले गरेको आरोप लगाएको छ । उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था रहेको छ। सात वर्ष कैद र सत्तरी हजारसम्म जरिवाना हुने उल्लेख छ।
यस्तो छ दफा ५८
राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः (१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि 'संसद' भन्नाले नेपालको संविधान बमोजिमको सङ्घीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ।
विहान पूर्जी नलिइ गएको प्रहरीसँग आफू नआउने जवाफ दिएपछि उनलाई पूर्जी दिइएको हो। आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।