काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीकी नेता रामकुमारी झाँक्री गिरफ्तार भएकी छिन्। बिहीबार उनलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको थियो। झाँक्रीलाई पक्राउ गर्न नदिनका लागि उनका समर्थकहरु निवासमा पुगेका थिए। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका थिए।
त्यतिञ्जेल झाँक्री भने मिडियालाई प्रतिक्रिया दिइरहेकी थिइन्। उनले आफूले आफ्नो अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरेको बताएकी थिइन्। केही दिनअघि गोरखाबाट राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी थिइन्। तर, पदको लिंग नहुने र सार्वजनिक पदमा आसिन व्यक्तिको आलोचना गर्न पाइने उनको भनाइ थियो।
सुरुवातमा प्रहरीले पक्राउ पूर्जी नदिएकाले झाँक्रीले गिरफ्तारी दिन अस्वीकार गरेकी थिइन्। प्रहरीले पनि समर्थकको भीडबाट झाँक्रीलाई पक्राउ गर्ने आँट गरेको थिएन।
पछि पक्राउ पूर्जी ल्याइएर गिरफ्तारी दिन झाँक्री सहमत भएकी थिइन्। उनले केहीबेर प्रहरीसँग सल्लाह पनि गरेकी थिइन्। गिरफ्तारी दिनुअघि झाँक्रीले समर्थकलाई सम्बोधन गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।