काठमाडौं- रामकुमारी झाँक्रीलाई प्रक्राउ गर्न प्रहरी उनको निवास पुगेपछि उनका समर्थकले चर्को नाराबाजी गरेका छन्। यतिबेला झाँक्री निवासअघि नेकपाका कार्यकर्ता, प्रहरी र मिडियाकर्मीको भीड छ।
झाँक्रीका समर्थकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी गरेका छन्। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा उनीहरु दुवै नचाहिएको बताएका छन्।
केही बेरअघि कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको थियो। केही क्षणका लागि भएको झडप तत्कालै रोकिएको थियो।
झाँक्री भने मिडियालाई प्रतिक्रिया दिइरहेकी छिन्। उनी शान्त देखिन्छन् र अभिव्यक्ति स्वतन्त्रताको वकालत गरिरहेकी छिन्। संविधानले दिएको अधिकार अनुसार नै आफूले अभिव्यक्ति दिएको उनको भनाइ छ
केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी थिइन्। तर, बुधबार उनले पदको लिंग नहुने र सार्वजनिक पदमा रहेका व्यक्तिको आलोचना गर्न पाइने बताएकी थिइन्।
प्रहरीको ठूलो संख्यामा झांक्री निवासमा पुगे पनि उनलाई पक्राउ गर्न भने सकेको छैन।
नेताहरुको प्रतिक्रिया
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले झांक्रीलाई प्रक्राउ गर्ने विषय निरंकुश प्रवृत्तिले नाङ्गो व्यवहार भएको बताए। ‘निरंकुशताले नांगो प्रवृत्ति देखियो। हामी त्यस्तालाई यत्तिकै छोड्दैनौं’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘नेपालको संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि बुजो लगाउने दुस्साहस गरिएको छ। लोकतन्त्रका लागि संघर्ष गर्ने नेपाली जनताले त्यस्ता निरंकुश प्रवृत्तिलाई कुनै हालतमा छोडने छैनन्।’
उनले सरकारले देखाउने यस्ता प्रवृत्तिको अन्त्य गरेरै छोड्ने श्रेष्ठले बताए। उने यो कदम प्रतिगमनलाई परास्त गर्ने प्रक्रियासँग जोडिएको श्रृंखला भएको बताए।
नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए भन्दै चिन्ता व्यक्त गरेका छन्। 'राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर। व्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ। प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ', उनले ट्विटरमा लेखेका छन्।
त्यस्तै, बिष्णु रिजालले राजतन्त्रका बेला रानीको प्रसंग जोड्दै यो कदमको आलोचना गरेका छन्। 'राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन। ‘राजा वीरेन्द्रको वंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा-लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन', उनले फेसबुकमा लेखेका छन्, 'आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झांक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार ! हेक्का रहोस्- आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् !'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।