काठमाडौं- रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने प्रहरीको प्रयासपछि नेकपाका (प्रचण्ड-माधव पक्ष) नेताहरुले विरोध जनाएका छन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले झाँक्रीलाई प्रक्राउ गर्ने विषय निरंकुश प्रवृत्तिको नाङ्गो व्यवहार भएको बताए।
‘निरंकुशताले नांगो प्रवृत्ति देखियो। हामी त्यस्तालाई यत्तिकै छोड्दैनौं’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘नेपालको संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि बुजो लगाउने दुस्साहस गरिएको छ। लोकतन्त्रका लागि संघर्ष गर्ने नेपाली जनताले त्यस्ता निरंकुश प्रवृत्तिलाई कुनै हालतमा छोडने छैनन्।’
उनले सरकारले देखाउने यस्ता प्रवृत्तिको अन्त्य गरेरै छोड्ने श्रेष्ठले बताए। उने यो कदम प्रतिगमनलाई परास्त गर्ने प्रक्रियासँग जोडिएको श्रृंखला भएको बताए।
नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए भन्दै चिन्ता व्यक्त गरेका छन्।
'राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर। व्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ। प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ', उनले ट्विटरमा लेखेका छन्।
त्यस्तै, बिष्णु रिजालले राजतन्त्रका बेला रानीको प्रसँग जोड्दै यो कदमको आलोचना गरेका छन्। 'राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन।राजा वीरेन्द्रको वंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा-लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन', उनले फेसबुकमा लेखेका छन्, 'आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झाँक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार ! हेक्का रहोस्- आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् !'
त्यस्तै, नेकपाका कार्यकर्ताले झाँक्री निवासमा पुगेर नाराबाजी गरेका छन्। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी गरेका छन्। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा उनीहरु दुवै नचाहिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।