काठमाडौं- चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजिनक गर्ने कार्यक्रममा प्रश्न उठ्यो, आन्तरिक राजस्व विभागको महानिर्देशक कहिले तोक्नुहुन्छ?
राजस्व उठाउने सबैभन्दा ठूलो निकायको महानिर्देशक एक महिनायता रिक्त छ। तत्कालीन् महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएपछि नयाँ महानिर्देशक पठाइएको छैन।
पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले विभागमा छिट्टै नयाँ महानिर्देशक पठाउने बताएका थिए। 'हामी छिट्टै नयाँ महानिर्देशक पठाउछौँ,' पौडेलले भने, 'कतै तपाईंहरू यहाँबाट आफ्नो टेबलमा पुग्दासम्म महानिर्देशकको निर्णय भइसक्छ कि!'
माघ १ गते कुँवर रमाना लिएर सामाजिक विकास मन्त्रालय पोखरा पुगेका छन्। त्यहाँबाट डा रामप्रसाद घिमिरे अर्थ मन्त्रालय नै फर्किएका छन्। उनलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ।
विभागको महानिर्देशकमा सहसचिवहरू चन्द्रकला पौडेल र दीर्घराज मैनालीको चर्चा छ। तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेसम्म उनीहरूको अर्थ मन्त्रालयमा सरुवा भएको छैन।
संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख राजीव पोखरेलले अहिलेसम्म कसैको पनि सरुवा नभएको बताए। 'अहिलेसम्म कसैको पनि सरुवा भएको छैन,' पोखरेलले नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।