फाइल तस्बिर काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा इकाई स्थापना गर्ने तयारीमा रहेको बताएका छन्। महासंघको बैंक, वित्तीय तथा बिमा समिति विस्तार गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
'इकाई साधन स्रोत सम्पन्न हुने र समस्याहरूलाई सोही इकाईमार्फत् नै समाधान गरी उद्यमी व्यवसायीहरूलाई राहत दिने हाम्रो लक्ष्य छ,' अध्यक्ष गोल्छाले भने यसमा हामी छिट्टै 'मुभ' हुन्छौँ।'
बैंक, वित्त तथा बिमा समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले समिति महासंघमा महत्वपूर्ण भूमिका खेल्ने र यसले दिने हरेक सुझावहरू सन्तुलित र गहन हुनुपर्ने बताए।
‘बैंक तथा वित्तीय निकायहरू बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने कुरा निर्विवाद छ,’ उनले भने, ‘हामीले हाम्रा सुझावहरू तयार गर्दा दुवै पक्षलाई लाभ हुने किसिमले बनाउनु पर्छ।’
अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैकिङ, कर राजस्व, श्रम लगायतका समस्याहरूलाई सम्बोधन गर्न महासंघभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा इकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी गराए।
अध्यक्ष गोल्छाले नेपालमा बिमा व्यवसाय तुलानात्मक रूपमा महंगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनु पर्ने पनि बताए।
महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालको सभापतित्वमा बैंक, वित्तीय तथा बिमा समिति विस्तार भएको छ। समितिका सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार बेगानी र सुबोध कुमार गुप्ता चयन भएका छन्।
समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य, चार्टर्ड एकाउन्टेन्ट सुवास झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यहरू सुनील नारायण श्रेष्ठ, रामकृष्ण प्रसाईं र व्यवसायी प्रकाश तिवारी रहेका छन्।
त्यसैगरी समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजय सिंह वैध, संदीपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।