काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.५६ प्रतिशत रहेको जनाएको छ।
यसैगरी, आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ। बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.१ प्रतिशतले बढेको छ।
६ महिनाकै अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा छ भने कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड अमेरिकी डलर रहेको छ।
संघीय सरकारको खर्च ४ खर्ब १५ अर्ब ७५ करोड र राजस्व परिचालन ४ खर्ब २२ अर्ब २४ करोड रूपैयाँ भएको छ। विस्तृत मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ । यसैगरी, वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २३.० प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी ११.० प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.० प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर १५.० प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।